
काठमाण्डु, १० वैशाख – मुख्य विपक्षी दल एकीकृत नेकपा माओवादी सम्बद्ध विद्यार्थी संगठन अनेरास्ववियु क्रान्तिकारीसहितका १८ वटा विद्यार्थी संगठनले स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन गर्ने निर्णय फिर्ता लिन त्रिभुवन विश्वविद्यालयलाई २४ घण्टे अल्टिमेटम दिएका छन् ।
अनेरास्ववियु क्रान्तिकारी, मधेशी विद्यार्थी फोरम नेपाल, मधेशी विद्यार्थी फोरम लोकतान्त्रिक, नेपाल विद्यार्थी मञ्च, अखिल नेपाल विद्यार्थी युनियन लगायतका विद्यार्थी संगठनका नेताहरुले आज त्रिविका रेक्टर गुणनिधि न्यौपानेलाई ज्ञापनपत्र बुझाइ निर्णय फिर्ताका लागि २४ घण्टे अल्टिमेटम दिएका हुन् । त्रिभुवन विश्वविद्यालयले गएको सोमबार स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन आगामी जेठ १४ गते गर्ने घोषणा गरेको थियो ।
१८ वटा विद्यार्थी संगठनले त्रिविले सत्तापक्ष दल सम्बद्ध विद्यार्थी संगठनहरु नेपाल विद्यार्थी संघ र अनेरास्ववियुसँग मात्र सल्लाह गरेर निर्वाचनको मिति तोकिएको भन्दै निर्णय फिर्ता नलिए निर्वाचन हुने सबै क्याम्पसको प्रशासनमा तालाबन्दी गर्ने र संघर्षका अन्य कार्यक्रम गर्ने चेतावनी दिएका छन् ।
त्रिविले भने आग्रह-पूर्वाग्रह राखेर निर्वाचनको मिति तोकिएको भन्ने आरोपको खण्डन गरेको छ । त्रिविका रेक्टर गुणनिधि न्यौपानेले लामो समयदेखि निर्वाचन नभएकाले विद्यार्थी संगठनहरुसँगको सल्लाहमा नै मिति तोकिएको भन्दै्र असन्तुष्ट विद्यार्थीहरुको मागका सम्बन्धमा आपसी छलफलबाट समाधान खोजिने बताए । विद्यार्थी संगठनहरुबीचको विवादका कारण विगत ६ वर्षयता स्ववियु निर्वाचन हुन सकेको छैन ।