
काठमाण्डु, १० वैशाख – अागामी बैशाख १२ र १३ गते ललितपुरको कुमारीपाटी जावलाखेलमा महोत्सव हुने भएको छ ।
कुमारीपाटी जावलाखेल महोत्सव मूल समितिले आज पत्रकार सम्मेलन गरेर इटी चोक देखि कुमारीपाटी, तफाल्हो, जावलाखेल सम्म करिब १ किलोमिटर दूरीको क्षेत्रमा पहिलो पटक विभिन्न सांस्कृतिक कार्यक्रमका साथ पहिचान सहितको कुमारीपाटी जावलाखेल महोत्सव आयोजना गर्न लागेको जानकारी दिएको हो ।
पत्रकार सम्मेलनमासमितिका अध्यक्ष पुष्प रत्न शाक्यले महोत्सवको उद्घाटन १२ गते शुक्रबार अपरान्ह ३ बजे उप–प्रधानमन्त्री, संघीय मामिला तथा स्थानीय विकास मन्त्री प्रकाशमान सिंहले गर्ने जानकारी समेत दिए । संस्कृतविद सत्यमोहन जोशीको विशेष आतिथ्यमा हुने महोत्सवको प्रवेश द्धार इटी चोक, लगनखेल कुमारीपाटी चोक र जावलाखेल चोकमा राखिने उनले जानकारी दिए ।
उनले महोत्सवमा सांस्कृतिक कार्यक्रम शुरु हुनु अघि बि–वोइङ्, बाइक स्टन्ट शो लगायतका मनोरञ्जनात्मक कार्यक्रम पनि प्रस्तुत गरिने बताउदै कार्यक्रमलाइ अझै रोचक बनाउन किड्स जोन, फेश पेन्टिङ्, ट्याटु, विभिन्न परिकारका फूड स्टल, हस्तकला र अन्य व्यवसायहरुको व्यापार प्रर्वद्धन गर्न करिब २०० वटा स्टलहरु पनि राखिने जानकारी दिए । त्यस्तै उनले महोत्सवको दुवै दिन नेपालको सांस्कृतिक सम्पदाको विभिन्न ८ प्रकारका नृत्यहरु सडकमा प्रस्तुत गर्ने, महोत्सवको दोस्रो दिन फिस्टेल एयरबाट पुष्प बृष्टि पनि गरिने पनि बताए ।
शाक्यले उपत्यकामा भएका अरु महोत्सव मध्ये यस महोत्सवलाई सवैभन्दा व्यवस्थित एवम अविस्मरणीय बनाउन आन्तरिक तथा बाह्य गरि करिब पाँच लाख आगन्तुकहरुले यो महोत्सव अवलोकन गर्ने विश्वास ब्यक्त गरे । महोत्सवलाइ मर्यादित एवम् शान्तिपूर्ण ढंगले सञ्चालन गर्न पनि ललितपुर जिल्ला प्रशासन कार्यालयबाट सुरक्षा निकाय खटाइने पनि जानकारी दिए।