काठमाण्डु, ९ बैशाख – मनोरञ्जन क्षेत्रमा कार्यरत महिला कार्यक्षेत्रमा मात्र नभई बाटोमा हिँड्दा र प्रहरी प्रशासनबाट समेत हिंसामा पर्ने गरेका छन् ।
महिलाका निम्ति महिला मञ्च र छोरी संस्थाको आयोजनामा आज काठमाण्डुमा भएको कार्यक्रममा ती महिलाले काम गर्ने समय निश्चित नभएकाले रात्रिकालीन समयमा आफूहरूले असुरक्षित महसुस गर्ने गरेको बताए ।
मञ्चका अध्यक्ष सिर्जना पुनले कार्यपत्र प्रस्तुत गर्दै मनोरञ्जन क्षेत्रमा काम गर्ने महिलालाई हेलाँको दृष्टिले हेर्ने कारण काठमाडौँ उपत्यकामा घर भाडामा पाउन समेत मुस्किल हुने गरेको बताइन् ।
भाडामा पाइहाले पनि चर्को घरभाडा तिर्नुपर्ने बाध्यता रहेको गुनासो उनले गरिन् ।
यस क्षेत्रमा कार्यरत महिलालाई नियुक्तिपत्र, निश्चित कार्य समय, पारिश्रमिकलगायत नतोकिनुले हिंसा तथा विभिन्न घटनामा पर्दा न्याय पाउने अवसरबाट समेत बञ्चित हुनुपरेको घटना धेरै रहेको उनले उल्लेख गरिन् ।
मनोरञ्जन क्षेत्रमा काम गर्ने महिला शारीरिक रुपमा शोषणमा पर्नुका साथै परिवार वा आफन्तले देख्लान् की भनेर मानसिकरुपमा समेत तनावमा काम गर्नुपर्ने अवस्था रहेको अध्यक्ष पुनको भनाइ थियो ।
सर्वोच्च अदालतले २०६५ मै मनोरञ्जन क्षेत्रमा कार्यरत महिलाका लागि यौन उत्पीडन नियन्त्रण गर्न निर्देशिका जारी गरिसकेको छ ।
रेष्टुरेन्ट, डान्सबार, क्लब, दोहोरीलगायत मनोरञ्जन क्षेत्रमा करिब ३० हजारको सङ्ख्यामा महिला कार्यरत छन् । काठमाडौँ उपत्यकामा मात्रै करिब पाँच हजार महिला यस क्षेत्रमा कार्यरत छन् ।