काठमाण्डु, ९ बैशाख – अनियमितता र भ्रष्टाचार गरेको आरोपमा शिक्षा मन्त्रालयका तत्कालीन उपसचिव वेणीमाधव भट्टराईलाई अनुसन्धानका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज हिरासतमा लिएको छ ।
विसं २०६८ पुस- माघ महिनामा शिक्षा मन्त्रालयद्वारा सञ्चालित एमबिबिएस परीक्षा उत्तीर्ण गराइदिन्छु भन्ने प्रलोभन दिई पैसा लिएको विषयसहित विभिन्न व्यक्तिसँग एक करोडभन्दा बढी रकम उठाएको अभियोगमा अनुसन्धानका लागि आयोगले उनलाई हिरासतमा लिएको आयोगका सहन्यायाधिवक्ता एवम् प्रवक्ता श्रीधर सापकोटाले जानकारी दिए ।