काठमाण्डु, ९ वैशाख – यही वैशाख २० र २१ गते काठमाडौंमा हुन लागेको नेपाल पत्रकार महासंघको महाधिवेशनमा दुई प्यानलका अध्यक्ष प्रत्यासीले आआफ्ना एजेण्डा सार्वजनिक गरेका छन् ।
पत्रकारहरुको एकमात्र छाता संस्थाको रुपमा रहेको महासंघमा आगामी नेतृत्वका लागि अध्यक्षमा प्रेस चौतारी नेपालका तर्फबाट डा. महेन्द्र विष्ट र नेपाल प्रेस युनियनका तर्फबाट पोषण केसीले उम्मेदवारी घोषणा गरेका छन् ।
आज मिडिया इन्टरनेशनलले आयोजना गरेको कार्यक्रममा अध्यक्षका दुवै प्रत्यासीले आआफ्ना कार्यक्रमहरु सार्वजनिक गरेका हुन् ।
कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्षका प्रत्यासी पोषण केसीले आफु विजय भए पनि वा पराजय भए पनि पत्रकारको हकहितका लागी लडिरहने बताए ।
आगामी नेतृत्वले पत्रकारका हकहितमा आवाज उठाउने बताउँदै उनले पत्रकारहरुका समस्याहरुलाई वृहत छलफल गरि निस्कर्षमा पुराउन आफू लाग्ने बताए ।
पत्रकारहरुलाई पेशागत रुपमा लैजानका लागि आचारसंहितालाई पालना गर्नु पर्ने बताउँदै केसीले पत्रकारितालाई व्यवसायिक मर्यादाका रुपमा लैजाने मुद्धालाई अघि सारे ।
राज्य पक्ष उदासिन हुदाँ पत्रकारहरुका मुद्धाहरु कार्यन्वयन गर्न नसकिएको बताउँदै केसीले आगामी नेतृत्वमा रहेर आफूले हालसम्म सम्बोधन हुन नसकेका मुद्धालाई सम्बोधन गर्ने बताए ।
उनले पत्रकारको हकहितमा लड्न सक्ने व्यक्तिलाई पत्रकार महासंघमा जिताउन पनि आग्रह गरे ।
व्यवसायीक पत्रकारितामा पनि न्यूनतम पारिश्रमिक उपलव्ध हुन नसकेको बताउँदै उनले त्यसलाई कार्यान्वयन गर्नका लागि आफू सक्रियताका साथ अघि बढ्नेमा जोड दिए ।
कार्यक्रममा बोल्दै अर्का अध्यक्षका प्रत्यासी डा.महेन्द्र विष्टले हालको पत्रकारिता कहाँ छ र कस्तो अबस्थामा छ भन्ने कुरालाई हेर्न आवश्यक रहेको बताए ।
उनले पत्रकारको हकहितमा लाग्न अब पत्रकार महासंघले केहि फरक कोणबाट लाग्न जरुरी रहेको उल्लेख गर्दै उनले पत्रकारको हकहितका सवालमा आवाज उठाउन आवश्यक रहेको बताए । हाल पत्रकारहरुले न्युनतम पारिश्रमिक समेत नपाएको अबस्थामा पत्रकारितालाई व्यवसायिक बनाउन आवश्यक रहेको बताउँदै विष्टले श्रमजिवी पत्रकारहरुले न्युनतम पारिश्रमिक पाउनुपर्ने बताए ।