सगरमाथा आरोहणमा खटिने कामदारको बिमा रकम दोब्बर

काठमाण्डु टुडे २०७१ वैशाख ८ गते ९:५९ मा प्रकाशित

BBR-sholukhmbu-sagarmatha himalकाठमाण्डु, ८ वैशाख – सरकारले सगरमाथा आरोहण कार्यमा खटिने कामदारको बिमालगायत सुविधा रकममा दोब्बरभन्दा बढी वृद्धि गरेको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आरोहणको काममा अति महत्वपूर्ण भूमिका खेल्ने शेर्पा सरदार पथप्रदर्शक, उच्च क्षेत्रका कामदार र स्थानीय कामदारको बिमा सन् २०१४ को वसन्त ऋतुदेखि लागू हुने गरी रकम वृद्धि गरेको हो ।

सोअनुरुप सरदारको पाँच लाखबाट रु १० लाख, क्लाइम्बिङ पथप्रदर्शकको रु चार लाखबाट १० लाख, आधारशिविर कामदारको तीन लाख ५० हजारबाट आठ लाख र स्थानीय कामदारको दुई लाख ५० हजारबाट रु पाँच लाख पुरयाइएको छ ।

त्यसैगरी सबैका लागि औषधोपचार बिमा ५० हजारबाट तीन लाख गरिएको मन्त्रालयले जनाएको छ । “हिमपहिरोको घटनापछि खोजी र उद्धार थालिएको, हेलिकोप्टर पठाई समन्वयात्मक रुपमा कार्य गरिएको, घाइतेको उपचार गराइएको, शव परिवारको जिम्मा लगाइएको छ” मन्त्रालयका प्रवक्ता मोहनकृष्ण सापकोटाद्वारा आज जारी विज्ञप्तिमा भनिएको छ ।

यही वैशाख ५ गते हिमपहिरोमा परी यस वर्षको वसन्त ऋतुको आरोहणका लागि तयारी गर्न गएका शेर्पा पथप्रदर्शक, उच्च हिमाली कामदार र सहयोगी व्यक्ति छ जनाभन्दा बढी घाइते भएको, तीन जना हराइरहेका र १३ जनाको निधन भएको थियो ।

मन्त्रालयले हिमपहिरोमा निधन १३ जना व्यक्तिप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकटका साथ हराइरहेका व्यक्तिको खोजी जारी रहने विज्ञप्तिमार्फत जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us