
दक्षिण कोरियामा भएको डुंगा दुर्घटनामा हराइरहेका यात्रुहरुका परिवारजनले उद्धार कार्यमा भैरहेको ढिलाइलाई लिएर आक्रोशपूर्ण विरोध जनाएका छन्।
विरोध प्रदर्शन गर्ने उद्देश्यले जिन्दो टापु छाडेर राजधानी सउलमा जुलुस निकाल्न जान खोज्ने एक सय जनाभन्दा बढी मानिसलाई प्रहरीले रोकेको छ।
डुङ्गा डुबेको तीन दिनभन्दा बढी समय वितिसक्दा अन्तत: गोताखोरहरुले डुङ्गाभित्र पसेर २२ वटा शवहरु बाहिर निकालेका छन्। यो सँगै दुर्घटनामा मृत्यु हुनेको संख्या ५४ पुगेको छ। यद्यपि गत बुधबार डुबेको सिवोल नामक उक्त डुङ्गामा रहेका २ सय ४८ जना अझै बेपत्ता छन्। उक्त डुंगाबाट झण्डै १ सय ७४ जनालाई उद्धार गरिएको छ।
डुङ्गा डुबेपछि त्यसमा सवार यात्रुका धेरै आफन्तहरु देशको दक्षिण-पश्चिममा पर्ने जिन्दो टापु पुगेका छन्। ति मध्ये केहिले उक्त स्थानबाट करिब ४ सय २० किलोमिटर उत्तरमा पर्ने मुख्य भु-भाग पुग्न एउटा पुल पार गर्न खोज्दा झडप भएको थियो।
तिनीहरुले सउलस्थित राष्ट्रपति कार्यालय अगाडि विरोध प्रदर्शन गर्न जान खोजेको बताइएको छ।उद्धार कार्यबारे समाचारको प्रतिक्षामा रहेका सयौं मानिसहरु उक्त टापुस्थित एउटा जिमखानामा बसिरहेका छन्।
“स्पष्ट रुपमा उनीहरु झुठो बोलिरहेका छन् र अरु मानिसहरुलाई जिम्मेवारी पन्छाइरहेका छन्” हराइरहेका एक जना १७ वर्षीय यात्रु ली जङ्ग-इनका बुवा ली वुन-गिउनले भने, ”निर्देशन अनुसार किन काम भईरहेको छैन र किन केही गरिंदैछैन भन्ने कुराको जवाफ हामी जिम्मेवार व्यक्तिबाट चाहन्छौं।
जिन्दो टापुस्थित बीबीसीका सम्बादाता जोनाथन हेड भन्छन्- सउलमा विरोध जुलुस निकाल्नका निम्ति भेला भएका प्रदर्शनकारीहरुलाई मनाउन प्रधानमन्त्री स्वयं नै आएका थिए।
यो विवादले राष्ट्रिय राजनितिको मुद्दाको रुप लिन सक्ने र त्यसबाट सरकारलाई नोक्सान पुग्न सक्ने आशंकामा अधिकारीहरु चिन्तित छन्।
समुद्रबाट हालै निकालिएका १३ वटा शवहरु बोकेको जहाज आइतबार जिन्दोस्थित पाएङ्गमोक बन्दरगाह पुगेको छ। संवाददाता भन्छन्, खोजी कार्यका लागि करिब २ सय वटा जहाज, ३४ वटा विमान र ६ सय जना गोताखोरहरु परिचालन गरिएका छन्।
गोताखोरहरुलाई रातको समयमा सहयोग हुने गरि शक्तिशाली बत्ती भएका माछा मार्ने डुङ्गा पनि परिचालन गरिएको छ। तर त्यसस्थलमा पानीको बहाव अझै शक्तिशाली रहेको छ र पानीको धमिलोपनाले खोजी तथा उद्धारकार्यमा थप चुनौती उत्पन्न गरिदिएको छ।
गोताखोरहरुले डुङ्गाभित्र छिर्ने विभिन्न बाटो फेला पारेका र शवहरु फरक फरक स्थानमा भेटीएका तटरक्षक बलका अधिकारी कोह म्युङ्ग-सिओकले बताए।”गोताखोरहरुले डुङ्गाभित्र छिर्ने विभिन्न बाटो फेला पारेका छन् र शवहरु फरक फरक स्थानमा भेटीएका छन्”
सो जहाजका कप्तान र अन्य दुई जना कर्मचारीहरु थुनामा छन् र उनीहरुमाथि काममा लापरवाही गरेको र सामुद्रिक कानून उल्लंघन गरेको आरोप लगाइएको छ। अधिकारीहरुका अनुसार डुङ्गा डुबेको बेला अनुभव कम भएका कनिष्ठ चालकले डुङ्गा चलाइरहेका थिए। BBC