सहमतिको आधारमा सभापति चयनको प्रयास विफल

काठमाण्डु टुडे २०७१ वैशाख ७ गते १३:५९ मा प्रकाशित

Biccकाठमाण्डु, ७ बैशाख  –  संवैधानिक, राजनीतिक संवाद तथा सहमति समितिले सभापतिको चयन प्रक्रिया सहमतिका आधारमा हुन नसकेको व्यहोरासहितको जानकारी संविधानसभाका अध्यक्षलाई दिने निर्णय गरेको छ ।

सिंहदरवारस्थित संविधानसभा सचिवालयमा बसेको समितिको बैठकले लामो समयसम्म सर्वसम्मतिको आधारमा सभापति चयनको लागि प्रयास गरेपनि सहमतिको विन्दु फेला नपरेको जनाउँदै निर्वाचन प्रक्रियाका आधारमा चयन प्रक्रिया तत्काल थाल्न सुझाउ दिएको थियो ।

निर्वाचन प्रक्रियामा गएतापनि सहमतिका आधारमा चयन गर्न राजनीतिक नेतृत्वलाई सुझाउ दिँदै बैठकमा भाग लिने अधिकांश सदस्यले सहमतिका नाममा मुलुकलाई लामो समयसम्म बन्दक बनाउन नहुने बताए ।

बैठकमा सदस्यहरुले लामो समयसम्म सभापति चयन नहुँदा संविधान लेखनको हिसाबले ज्यादै महत्वपूर्ण मानिएको राजनीतिक समितिप्रति जनताको चासो घट्नुका साथै स्वयम् समिति नै निदाएजस्तो देखिएकाले अब तत्काल प्रक्रियाका आधारमा सभापति चयनको बाटो खुल्ला गर्न जरुरी रहेको आवश्यकता औँल्याए ।

सहमतिको नाममा पटकपटक समितिको बैठक सार्ने काम भएतापनि प्रमुख दलका शीर्ष नेतृत्वबाटै सहमतिको लागि आवश्यक प्रयास नभएको भनि आक्रोश व्यक्त गर्दै उनी हरुले काममा ढिलाइ गर्ने अनि सहमतिको नाममा फेरि कार्यतालिका संशोधन गर्ने कार्यले जनतामा निराशा पैदा हुनेतर्फ सचेत रहन शीर्ष नेतृत्वलाई सुझाउ दिए ।

बैठकमा सभासद् चन्द्र भण्डारी, सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट, अतहर कमाल मुसलमान, एकनाथ ढकाल, केशव बडाल, दिलनाथ गिरी, प्रेमबहादुर सिंह, जीतबहादुर दर्जी, गणेशमान गुरुङ, गोपाल दहित र महिन लिम्बूले समितिको बैठकमा प्रमुख दलका शीर्ष नेताहरु नै आउन छाडेकाले सहमतिको सम्मभावना नरहेको हुँदा प्रक्रियामा गएर सभापति चयनको छिनोफानोको काम अघि बढाउन आवश्यक देखिएको धारणा राखेका थिए ।

आजको बैठकमा नेपाली काँग्रेसका सभापति एवम् प्रधानमन्त्री सुशील कोइराला, नेकपा (एमाले)का अध्यक्ष झलनाथ खनाल र एकीकृत नेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहाल उपस्थित भएनन् ।

एकहत्तर सदस्यीय उक्त समितिको आजको बैठकमा ३१ जना सदस्य मात्रले उपस्थिति जनाएका थिए ।
संविधानसभामा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका अध्यक्ष एवम् संसदीय दलका नेताको प्रतिनिधित्व हुने गरी समितिको गठन गरिएको छ ।

संविधान लेखनको क्रममा सबैभन्दा महत्वपूर्ण मानिएको संवैधानिक, राजनीतिक संवाद तथा सहमति समितिको सभापति चयन कार्य सहमतिका आधारमा नभएपछि संविधानसभाले पारित गरको कार्ययोजनाअनुसार समितिको कार्यविधि, कार्यतालिका र सभापति चयन प्रक्रिया यही वैशाख १५ गतेभित्र पूरा गरिसक्नुपर्ने बाध्यात्मक परिस्थिति रहेकाले संविधानसभाका अध्यक्षले भोलिसम्ममा निर्वाचनको मिति तोक्नु हुनेछ ।

समितिका सभापति चयनका लागि यही वैशाख ५ गतेसम्मको समयसीमा दिएकामा राजनीतिक समितिको सभापति चयनको लागि अन्तिम प्रयासका लागि समितिले शीर्ष नेताहरुलाई आजसम्मको समयावधि दिएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us