
काठमाण्डु, ७ वैशाख – वैदेशिक रोजगारीमा जाने नेपाली महिलाहरुले कामका सिलसिलामा गन्तव्य मुलुक र स्वदेश फिर्तापछि पनि जटिल समस्या भोग्नुपरेको एक अनुसन्धान प्रतिवेदनले देखाएको छ ।
ग्रीन तारा नेपाल र बेलायतको शेफिल्ड विश्वविद्यालयले संयुक्त रुपमा आज सार्वजनिक गरेको प्रारम्भिक प्रतिवेदन अनुसार नेपालबाट विदेशिने कामदारको सङ्ख्या बर्सेनि बढ्दै गएपनि राज्य पक्षबाट यसलाई व्यवस्थित गर्न नसक्दा विकराल समस्या उत्पन्न भएको छ ।
प्राध्यापक पउल बिस्सेल, डा पद्म सिंखडा र अनुन्धानकर्ता सारा देवकोटाले तयार पारेको ‘मानव बेचविखन र वैदेशिक रोजगारीमा नेपाली महिला’ विषयक प्रतिवेदनमा महिलाको दयनीय अवस्थाबारे चर्चा गरिएको छ ।
आर्थिक अवस्था कमजोर, बच्चाको शिक्षा, परिवारको दबाब र आर्थिक प्रलोभन जस्ता कारणले महिलाहरु विदेशिने गरेको प्रतिवेदनमा उल्लिखित छ ।
त्यस्तै, भारतमा मात्रै करिब दुई लाख नेपाली महिला यौन व्यवसायमा संलग्न भएको, पछिल्लो समय खाडी मुलुक र अफ्रिकामा समेत नेपाली महिला यौनधन्दाका लागि लैजान सुरु गरिएको र त्यसलाई तत्काल नियन्त्रण गर्न आवश्यक रहेको प्रतिवेदनमा आँैल्याइएको छ ।
वैदेशिक ओसारपसारसम्बन्धी नीतिलाई सरकारले व्यवस्थित बनाउनुपर्ने, यससम्बन्धी दिर्घकालीन नीति बनाउनुपर्नेलगायतको सुझाव प्रतिवदेनमा दिइएको छ ।
प्रतिवेदन माथि टिप्पणी गर्दै नेकपा(एमाले)का सभासद् गङ्गाधर तुलाधरले प्रतिवेदनले वैदेशिक रोजगारमा रहेका जटिलतालाई उजागर गरेकाले अब बन्ने संविधानमा त्यसलाई समाधान गर्न आफूले पहल गर्ने प्रतिबद्धता जनाए ।