
काठमाण्डु, ७ वैशाख – आगामी १८ गतेदेखि बिराटनगरमा एकीकृत नेकपा माओवादीको राष्ट्रिय सम्मेलन हुने तय भएको छ । सम्मेलनको मिति नजिकिदै गर्दा सम्मेलन हुने नहुने बिषयलाई लिएर बिभिन्न टिका टिप्पणी पनि भइरहेका छन् ।
एमाओवादी नेता पोष्टबहादुर बोगटीका अनुसार सम्मेलनको सम्पुर्ण तयारी पुरा भइसकेको छ , तर कतियले भने सम्मेलन हुने स्थान सार्नुपर्नेमा जोड दिएका छन् ।
बैशाखमासको उघुम गर्मी गर्ने स्थान बिराटनगरमा सम्मेलन गर्न नहुने भन्दै उनीहरुले नेतृत्वको ध्यानाकर्षण समेत गराएका छन् । जल तथा मौसम पुर्वानुमान महाशाखाका अनुसार बिराटनगरमा अहिले ३७ डिग्रि सेल्सियस गर्मी छ ।
सम्मेलनका क्रममा ३७ बाट बढेर ४२ डिग्रि सेल्सियस भन्दा धेरै पुग्ने उसले अनुमान गरेको छ । त्यस्तो गर्मीमा सम्मेलन गर्दा सहभागिहरु बिरामी हुन सक्ने अनुमान पनि नेताहरुले गरेका छन् । पुर्वमा नै सम्मेलन गर्ने भए भेडेँटार, जिरी लगायतका स्थानमा गर्न पनि ती नेताहरुले सुझाव दिएका छन् । स्रोतका अनुसार एकीकृत माओवादीको सम्मेलन केही पर सार्ने बिषयमा पनि छलफल भइरहेको छ ।
सम्मेलनमा पनि तातो कुरा हुने र वाताबरण पनि तातो हुदाँ एमाओवादी नेताहरुलाई ठण्डा दिमागले सोच्ने स्थान तय गर्नुपर्ने देखिन्छ ।
सम्मेलनमा मुलुकभरिका पार्टी प्रतिनिधि तथा पर्यवेक्षक गरी एक हजार ५०० भन्दा बढीको सहभागिता रहने छ । सम्मेलन सम्पन्न गर्न करिब ३५ लाखभन्दा बढी खर्च हुने एमाओवादीले जनाएको छ ।