
विराटनगर, ७ वैशाख – सिँचाइमन्त्री नारायणप्रकाश साउदले कृषि उत्पादन वृद्धि गर्न सिँचाइ र बाढीग्रस्त क्षेत्रका लागि नयाँ र प्रभावकारी नीति निर्माण योजना ल्याइने बताएका छन् ।
नेपाल प्रेस युनियन मोरङद्वारा आज आयोजित पत्रकार सम्मेलनमा उनले आगामी एक वर्षभित्र सरकारले जसरी पनि देशलाई नयाँ संविधान दिने बताउँदै सरकारले प्रभावकारी कार्य सम्पन्न गर्नका लागि एक सय दिनको योजना तर्जुमा गर्ने जानकारी पनि दिए ।
अर्काे प्रसङ्गमा उनले सत्य निरुपण तथा मेलमिलाप अनि बेपत्ता खोजबिन आयोगको कानुन केही दिनभित्रै संसद्बाट पारित हुने बताउँदै द्वन्द्वकालीन घटनामा मानव अधिकारको हनन नहोस् र समाजमा शान्ति पनि नखलबलियोस् भनेर सचेतापूर्वक शान्ति प्रक्रिया कार्य पूर्ण गराउन लागिएको छ भने ।
वर्तमान सरकारले राष्ट्रिय एवम् अन्तर्राष्ट्रिय मानवअधिकारवादीले भनेअनुसार कार्य गर्ने होइन, नेपालको भौगोलिक परिवेश र राजनीतिक सहमतिका आधारमा मानवताको रक्षा गर्दै शान्ति प्रक्रिया पूरा गराउनका लागि आयोग निर्माण हुने छ, मेलमिलापमा दुवै पक्ष खुसी भएर गरिने कार्य भएकाले यस सम्बन्धमा अनावश्यक बाधा व्यवधान खडा गर्नु उचित हुँदैन उनले भपे ।