
काठमाण्डु, ६ वैशाख – सरकारले गत चैत मसान्तसम्ममा नागढुङ्गा–नौबिसे सडकखण्डको मर्मतको काम सम्पन्न गर्ने जनाए पनि हालसम्म त्यसले पूर्णता पाउन सकेको छैन ।
सो सडकखण्डमा मर्मतको काम सुस्त रूपमा अगाडि बढ्दा सवारी साधन र यात्रुहरूले नराम्ररी दुःख पाएका छन् । काममा ढिलाइ हुँदा घण्टौँ सवारी साधन जाममा पर्ने गरेका छन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले चैत मसान्तसम्मको समयसीमा तोकेर मर्मतको काम अगाडि बढाए पनि ठेकेदारको लापरबाही र सरकारी निकायले अनुगमनमा गरेको कमजोरीका कारण समस्या पैदा भएको छ ।
सडक मर्मतका लागि भन्दै वैकल्पिक ट्र्याक खोलिएको भए पनि सानो पानी पर्नासाथ सडक पूरै अवरुद्ध हुने गरेको छ ।
मर्मतको काम पूरा हुन अझै तीन महिना लाग्ने देखिएको छ । मर्मतका लागि उल्लेख्य मात्रामा जनशक्ति परिचालन गर्नुपर्नेमा एकाध कामदारमात्रै परिचालन गरिएको छ । जसका कारण मर्मतको काममा ढिलाइ भएको छ । राजधानी काठमाडौँलाई जोड्ने महत्वपूर्ण र भरपर्दो मार्गका रूपमा रहेको सो राजमार्गमा अनगिन्ती स्थानमा खाल्डाखुल्डी परेका छन् । त्यसलाई मर्मत गर्नेतर्फ पनि कुनै चासो देखाइएको छैन ।
सडक मर्मतका कारण सवारी साधन लामो समय जाममा पर्दा यात्रुले भोगेको हैरानी र दुःख भनी साध्य नरहेको भुक्तभोगीहरू बताउँछन् ।
सो सडकखण्डको विभिन्न स्थानमा करिब एक हजार ५०० मिटरभन्दा बढी भाग ढलान गर्ने भन्दै भत्काइएको छ । भत्काइएको स्थानमा एकापट्टिमात्रै ढलान गरिएको भए पनि अर्कोपट्टि कुनै पनि ढलान गरिएको छैन । सवारी साधन आवतजावतका लागि वैकल्पिक ट्र्याक निर्माण गरिए पनि धूलोका कारण समस्या पर्ने गरेको छ ।
मर्मतका लागि भन्दै स्थानीय सिस्नेखोलामा करिब दुई सय मिटर सडक भत्काइएको छ । सो स्थानमा कुनै पनि निर्माणको काम भएको छैन ।
झ्याप्लेखोलामा ढलान गर्नका लागि भनेर भत्काइएको ३५० मिटर सडकमा पनि एकतर्फमात्रै ढलान गरिए पनि अर्कोतर्फ कुनै पनि ढलानको काम सुरु हुन सकेको छैन ।
यस्तै खत्रीपौवा खोलामा सवारी साधनका लागि बेलीब्रिज जडान गरिएको बाहेक अरू कुनै पनि काम अगाडि बढ्न सकेको छैन । सो स्थानमा अत्यधिक मात्रामा सवारी साधन दुर्घटनामा पर्ने गरेको छ ।
सो स्थानमा करिब ३५० मिटर ढलान गर्ने सरकारको योजना रहेको छ । यस्तै स्थानीय गणेश मन्दिरमा सवारी साधनका लागि नयाँ ट्र्याक खोलिएको छ । सो सडकखण्डको सर्वाधिक अप्ठ्यारो स्थानको रूपमा रहेको ढिस्कोलाई फुटाई नयाँ ट्र्याक खोलिएको भए पनि सो स्थानमा गुणस्तरीय रूपमा काम अगाडि बढ्न सकेको छैन ।
याक घरमा २१० मिटर र याक घरको डाइभर्सनको १०५ मिटर ढलान गर्ने लक्ष्य राखिएको भए पनि ती स्थानमा एकातर्फमात्रै ढलान सम्पन्न भएको छ । यसैगरी नौबिसे उकालोको पेट्रोलपम्प नजिक ८० मिटर ढलान गर्नुपर्ने भए पनि सो स्थानमा काम सुरु हुनै सकेको छैन । सडक मर्मतका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव कृष्णहरि बाँस्कोटाको नेतृत्वमा पटक–पटक अनुगमन गरिए पनि काम सम्पन्न हुन सकेको छैन ।
केही समय पहिले सो सडकखण्डको मर्मतका लागि ट्राफिक प्रहरीले रातको समयमा सवारी साधन नचलाउन अनुरोधसमेत गरेको थियो । रातको समयमा सवारी साधन नचलाइकन मर्मत गरिएको भए पनि किन मर्मत सम्पन्न हुन सकेन त्यसबारेमा कुनै पनि निकायको स्पष्ट जवाफ छैन ।
सचिव बाँस्कोटाले मर्मत सम्भारका लागि चैत मसान्तसम्मको समयसीमा दिइएको भए पनि काम पूरा नभएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् ।
यही वैशाख २ गते भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री विमलेन्द्र निधिले तत्काल सडक मर्मतको काम सम्पन्न गर्न निर्देशनसमेत दिएका थिए ।
तर निर्माण व्यवसायीले उल्लेख्य मात्रामा कामदार परिचालन गर्न सकेको छैन । मन्त्री निधिले निरीक्षणको क्रममा वैशाख मसान्तभित्र मर्मतको काम सम्पन्न गर्न निर्देशन दिए पनि सो समयभित्र पनि काम सम्पन्न हुनेमा आशङ्का भने कायमै रहेको छ ।
वर्षाकालभन्दा पहिले सो सडक मर्मत हुन नसकेको खण्डमा राजधानी काठमाडौँसँग अन्य क्षेत्रको सम्पर्क पूर्ण रूपमा विच्छेद हुने छ । वैकल्पिक ट्र्याकका कारण सानो पानी पर्दासमेत सडक पूर्ण रूपमा अवरुद्ध हुने गरेको स्थितिमा वर्षाकालमा अवस्था झन भयावह बन्ने सम्भावना रहेको छ ।