नेपालको विकासमा सघाउने विश्व बैंकको प्रतिबद्धता

काठमाण्डु टुडे २०७१ वैशाख ६ गते ९:५४ मा प्रकाशित

काठमाडौँ, ६ वैशाख – अर्थमन्त्री डा. रामशरण महतले मुलुकको पूर्वाधार निर्माणको क्षेत्रमा लगानी वृद्धि गरी आर्थिक विकासको गति बढाउन विश्व बैंकले पूर्ण सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको बताएका छन् ।

संयुक्त राज्य अमेरिकाको राजधानी वासिङटन डिसीमा ‘पानी, सरसफाइ तथा स्वास्थ्यका लागि उचित लगानी’ विषयक उच्चस्तरीय बैठक र मेक्सिकोको राजधानी मेक्सिको सिटीमा यही वैशाख २ र ३ गते सम्पन्न ‘प्रभावकारी विकास सहायताका लागि विश्वव्यापी साझेदारी’ बैठकमा भाग लिएर आज अपराह्न स्वदेश फर्केपछि पत्रकारहरुसँग कुरा गर्दै उनले उक्त जानकारी दिएका हुन् ।
पहिलोपटक भएको साझेदारी बैठकमा मन्त्री महतले सहस्राब्दी विकास लक्ष्य प्राप्त गर्न अन्तर्राष्ट्रिय वातावरण सबल बनाउने तथा सन् २०१५ पछिको विकास कार्यसूचीलाई ठोस, समावेशी तथा कार्यमुखी बनाउनुपर्ने आवश्यकतामा जोड दिएको बताए ।
जलविद्युत् विकासका लागि विश्व बैंकले छ खर्ब लगानी गर्ने र सिँचाइजस्ता पूर्वाधार विकासका परियोजनामा लगानी गर्ने प्रतिबद्धता जनाएको उनले बताए ।

जलविद्युत्, सिँचाइ, सडक, पुलपुलेसाजस्ता विकासका पूर्वाधार निर्माण गर्न निजी–सार्वजनिक साझेदारीका साथै गैरसरकारी संस्थासमेत सक्रिय हुनुपर्ने धारणा विश्वव्यापी सहकार्य सम्मेलनमा व्यक्त भएको जानकारी उनल दिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us