
काठमाण्डु, ६ वैशाख – क्रान्तिकारी पत्रकार संघले विधान संशोधन प्रस्तावमा छलफल नभए पत्रकार महासंघको महाधिवेशन अघि बढ्न नदिने चेतावनी दिएको छ ।
नेपाल पत्रकार महासंघले विधान संशोधनका विषयमा गरेको छलफल कार्यक्रममा क्रान्तिकारी पत्रकार संघका अध्यक्ष गोविन्द आचार्यले यस्तो चेतावनी दिएका हुन् । आचार्यले विधान संशोधन गर्ने कि नगर्ने भन्ने विषयमा अब गोलमटोल नभई स्पष्ट धारणा पत्रकार महासंघ र सबै संगठनले बनाउनुपर्नेमा जोड दिए । ‘पोखरा साधारणसभामा पेश भएको विधान संशोधन प्रस्तावबाट अब कोही पनि भाग्न पाउँदैन । पहिले प्राविधिक कारण देखाएर फिर्ता लिइएको थियो,’ आचार्यले भने – अब त्यो कारण पनि छैन् ।
त्यसैले कोही भाग्न पाउँदैन् । समावेशी विधान संशोधन प्रस्तावमा छलफल र निर्णयार्थ पेश नभए महाधिवेशन अघि बढ्दैन् । ’ आचार्यले नेपाल प्रेस यूनियन र प्रेस चौतारीप्रति लक्षित गर्दै भने – समावेशी विधान संशोधन प्रस्तावका विषयमा धारणा के हो ? एस वा नो भन्नुप¥यो । गोलमटोल कुरा होईन् ।’ आचार्यले आदिवासी जनजाति, मधेशी, दलित र महिला पदाधिकारीमै पुग्ने गरी खुल्ला सदस्य सहितको विधानमा व्यवस्था हुनुपर्नेमा जोड दिए ।
प्रेस चौतारीका अध्यक्ष राजेन्द्र अर्यालले समावेशी र खुल्ला सहितको समावेशी विधान बन्नुपर्ने र अहिलेको विधान संशोधन हुनुपर्नेमा जोड दिए ।
प्रेस युनियनका उपाध्यक्ष गंगाधर पराजुलीले जातिगत आधारमा भन्दा पनि विधागत आधारमा पत्रकार महासंघलाई समावेशी बनाउनुपर्ने भन्दै प्रेस यूनियनलाई समावेशी विरोधीका रुपमा नबुझ्न आग्रह गरे ।
क्रान्तिकारी पत्रकार महासंघका अध्यक्ष कुमार शाहले समावेशी विधान संशोधन गर्ने विषयमा कसैले पनि आलटाल गर्ने कुरा गर्न नहुनेमा जोड दिए ।
उनले विधान संशोधन गरेर अघि बढ्नु पर्ने र पत्रकार महासंघलाई थप समावेशी बनाउन सुझाव दिए । पत्रकार महासंघका अध्यक्ष शिव गाउँलेले विधान संशोधनका विषयमा थप छलफल अघि बढाउने भन्दै आ–आफ्नो ढंगले सुझाव दिन पनि पत्रकारहरुलाई आग्रह गरे ।
विधान संशोधन गर्नुपर्नेमा जोड दिँदै आएका सभाषद डण्ड गुरुङ, रेम विश्वकर्मा, रामकृष्ण भण्डारी, गजुरधन राई, दीपेन्द्र कुँवर, योगेश ढकाल, राजेश अहिराज, मनोज घर्ति र टेकराज थामीले विधान संशोधन गर्न सुझाव दिँदै महाधिवेशनमा मतदानमा लैजान आग्रह गर्नुभयो । सभाषदहरुले विधान संशोधनका विषयमा सहमति गरेर आउन प्रेस चौतारी, प्रेस यूनियन, क्रान्तिकारी पत्रकार संघ र क्रान्तिकारी पत्रकार महासंघलाई सुझाव दिएका छन् ।