डनवाद र धनवादले एमाले बर्बाद हुन्छ: नेपाल

काठमाण्डु टुडे २०७१ वैशाख ५ गते १४:३२ मा प्रकाशित

madav nepalकाठमाण्डु, ५ वैशाख– एमाले वरिष्ठ नेता माधवकुमार नेपालले पार्टीका डनवाद र धनवाद पार्टीका लागि खतरामा रुपमा देखा परेको बताएका छन् ।
अनलाइन पत्रकारहरुसँग राजधानीको बानेश्वरस्थित एक होटलमा भएको भेटमा उनले नेता केपी ओलीतर्फ लक्षित गर्दै डनवाद र धनवादले एमालेलाई बर्बादीको दिशामा डोर्‍याउने र पार्टी जनताबाट विस्थापित हुने बताए ।

ओलीमाथि पार्टीभित्र डनवादको संरक्षण गरिरहेको आरोप लाग्दै आएको छ । नेपाल र ओली एमालेको नवौं महाधिवेशनबाट अध्यक्ष बन्ने होडमा छन् ।

‘नेकपा एमालेका अगाडि दुईवटा खतरा देखिएको छ, त्यो हो डनवाद र धनवाद’, नेपालले भने, ‘डनवाद र धनवादबाट जोगाउन नसके पार्टी बर्बादीको दिशामा जाने खतरा छ, जनताबाट विस्थापित हुनेछ, ओज गुमाउने छ ।’ उनले ओली पक्षलाई पार्टीलाई प्राइभेट लिमिटेडका रुपमा नबुझ्न पनि चुनौती दिए ।

नेपालले हालका पदाधिकारी सबैले महाधिवेशनबाट नेतृत्व छाड्नुपर्ने र नयाँ नेतृत्व आउनुपर्ने उल्लेख गरे । अध्यक्ष, उपाध्यक्ष, महासचिव र सचिवहरु सबैले कार्यकारी पद छाड्नुपर्ने उनको भनाइ छ ।

‘अहिलेको पदाधिकारीमा रहेका सबैले कार्यकारी पद छाड्नुपर्छ, नयाँ नेतृत्व आउनुपर्छ’, उनले भने । सञ्चारकर्मीको एक जिज्ञाशामा उनले आफू यसअघि महासचिव भएको र अध्यक्षमा दाबी गर्नुलाई दोहोर्‍याएर नेतृत्व लिन खोजेको अर्थमा बुझ्न नमिल्ने तर्क गरे ।

‘म पहिला महासचिव भएको हुँ, अध्यक्ष भएको त होइन, अनि कसरी दोहोर्‍याएर नेतृत्वमा आउन लागेको भन्न मिल्छ ?’, नेपालको प्रश्न थियो । उनले अपवित्र गठबन्धन बनाएकाहरुले अँध्यारा कोठाहरुमा बसेर भावी नेतृत्व लिन षड्यन्त्र गरिरहेको भन्दै आपत्ति जनाए ।

भागवण्डाका आधारमा नभई कार्यकर्ताले विचार, राजनीतिक प्रष्टता र क्षमताका आधारमा नेतृत्व छान्ने भनाइ उनको थियो । ‘अँध्यारा कोठाहरुमा बसेर भाग शान्ति जय नेपाल गरेर पार्टी चल्दैन्’, नेपालले भने, ‘के पार्टी पाँच पाण्डवले जसरी एक वर्ष एउटाको अनि अर्को वर्ष अर्काको भनेर पालैपाले नेतृत्व लिने चिज हो र ?’ आफूले नेतृत्वमा दाबी गरेलगत्तै अर्को पक्षले आत्तिएर अनावश्यक होहल्ला गरेको टिप्पणी नेपालले गरे ।

उनले एमाले बलियो भए मात्र देश र जनता बलियो हुने र नेपालको अन्तर्राष्ट्रिय ख्याती बढ्ने भएकाले महाधिवेशनबाट सक्षम, योग्य र मुलुक हाँक्ने ‘भिजन’ भएको नेतृत्व चुन्न कार्यकर्तालाई अपिल गरे ।  आफू नयाँ पुस्तालाई पनि नेतृत्वमा ल्याउनुपर्ने पक्षमा रहेको भन्दै त्यसको नेतृत्व आफूले गर्ने बताए ।

‘अहिलेका अध्यक्ष, उपाध्यक्ष, महासचिव, सचिव सबै परीक्षण भइसकेका छन्’, नेपालले भने, ‘परीक्षण हुन बाँकी रहेको नयाँ पुस्तालाई पदाधिकारीमा ल्याउनुपर्छ भन्ने मेरो प्रष्ट धारणा छ ।’ उनले अहिलेका पदाधिकारीलाई पनि उनीहरुले पार्टीमा पुर्‍याएको योगदान र क्षमताका आधारमा जिम्मेवारी दिने पक्षमा आफू रहेको बताए ।

उनीहरुलाई प्रधानमन्त्री, राष्ट्रपति, सल्लाहकार परिषदको अध्यक्ष बनाएर जान सकिने विकल्प उनले अघि सारे । आफ्नो टिममा युवापुस्ताका नेताहरु सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट, युवराज ज्ञवाली र भीम रावल रहेको बताए ।

अध्यक्ष खनाल तपाईंको टिममा छन् कि छैनन् भन्ने प्रश्नमा उनले समय आएपछि त्यसबारे बताउने जवाफ दिए । ‘जबज एमालेको कार्यक्रम हो, त्यो सबै नेता र पार्टीको प्रयासले आएको हो, मदन भण्डारीको एक्लो प्रयासले होइन’, नेपालले भने, ‘सिंगो पार्टीको प्रयासबाट आएको जनताको बहुदलीय जनवाद एमालेको हो, कसैको बपौती होइन ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us