
काठमाण्डु,५ वैशाख – काठमाडौँ उपत्यकामा अत्याधिक जनसङ्ख्या वृद्धिले खानेपानीको मागअनुसार आपूर्ति हुन सकिरहेको छैन ।
वर्तमान प्रणालीमा चुहावट तथा सरोकारवाला निकायबीच आपसी समन्वय अभावका कारण खानेपानी वितरणको कार्य थप चुनौतीपूर्ण बन्दै गएको हो ।
उपत्यकाभित्रका सम्भावित खानेपानीका सबै स्रोत र भूमिगत स्रोतसमेत प्रयोग भइरहँदा पनि अभाव पूर्ति हुन सकेको छैन । करिब काठमाडौँको ३४ लाख जनसङ्ख्यालाई प्रतिदिन ४० करोड लिटर पानीको आवश्यकता छ, तर करिब १६ करोड लिटर मात्र आपूर्ति हुने गरेको छ ।
काठमाडौँ उपत्यकाको सहरी तथा सोसँग जोडिएका केही गाविस क्षेत्रभित्र काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेल) ले वर्षायाममा १६ करोड लिटर र सुख्खा आयममा १० करोड लिटर मात्र आपूर्ति गर्दै आएको छ ।
केयुकेलले मेलम्चीबाट पानी प्राप्त नहुँदासम्म उपत्यकाभित्र थप सतह स्रोत भूमिगत स्रोतको उपयोग गरी तीन करोड ५० लाख लिटर र वर्तमान प्रणालीमा चुहावट नियन्त्रण गरी थप २० लाख लिटर पानी उपभोक्तालाई वितरण गर्ने लक्ष लिएको छ ।
हाल केयुकेलले ३५ वटा सतह स्रोत र ६५ वटा डिप ट्युवेलबाट पानी उत्पादन गरिरहेको छ ।