सोमबारबाट पेट्रोलियम पदार्थको आपूर्ति सहज हुन्छः आपूर्तिमन्त्री

काठमाण्डु टुडे २०७१ वैशाख ५ गते ९:१७ मा प्रकाशित

sunil thapaकाठमाण्डु, ५ बैशाख – वाणिज्य तथा आपूर्ति मन्त्री सुनिलकुमार थापाले बजारमा देखिएको पेट्रोलियम पदार्थको अभाव सोमबारबाट अन्त्य भई आपूर्ति सहज हुने दावी गरेका छन् ।

रिपोटर्स क्लबले शुक्रवार आयोजना गरेको साक्षात्कारमा उनले सञ्चय कोषबाट भारतीय आयल निगमलाई आजै दुई अर्ब ५० करोड रुपैया पठाईसकिएको भए पनि शनिवार र आईतवार भारतमा विदा हुने भएकोले सोमबारबाट आपूर्ति सहज हुने बताए ।

क्लबका अध्यक्ष ऋषि धमलाको सभापतित्वमा भएको साक्षात्कारमा मन्त्री थापाले भारतमा भईरहेको निर्वाचन र केही बक्यौदा रकम भूक्तानीको विषयले आपूर्ति सहज हुन नसक्दा समस्या उत्पन्न भएको उल्लेख गर्दै आगामि मन्त्री परिषदको बैठकले भारतीय आयल निगमको बाँकी २ अर्ब ५० करोड रुपैया समेत भूक्तानी गर्ने दावी गरे ।

उनले भने– ‘अहिले सरकारको सम्पूर्ण ध्यान पेट्रोलियम पदार्थको आपूर्ति सहज गराउने दिशामा केन्द्रीत छ । अहिले पनि भण्डारमा तेल छ तर वितरण ब्यवस्थापनमा केही समस्या उत्पन्न भएकोले मात्रै अभाव देखिएको हो । काठमाडौमा दैनिक ३५० किलो लिटर खपत हुन्छ तर अहिले हामिले २५० किलो लिटर मात्रै दिन सकिएको छ । तर हामिसँग भण्डारमा अझै २३ हजार किलो लिटर स्टक बाँकी छ, डराउनु पर्ने अवस्था छैन ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us