
लमजुङ, ५ वैशाख – बेसीसहर घलेको पुख्र्यौली थलो उत्तरकन्या गाविसको घले गाउँमा भेला भएका देशभरका घले अगुवाले घले गाउँलाई सार्कको मात्र नभइ संसारकै नमुना गाउँ बनाउने प्रण गरेका छन् ।
चैत अन्तिम साता घले गाउँमा देशभरका घले प्रतिनिधि भेला भएका थिए । सार्क राष्ट्रको नमुना गाउँका रुपमा रहेको घले गाउँ देशकै नमुना पर्यटकीय गाउँका रुपमा विकास भइरहेको छ ।
प्राकृतिक दृश्यावलोकन र गुरुङ संस्कृतिको अध्ययन गर्न देशविदेशका पर्यटक यहाँ आउने गरेका छन् । घलेको पुख्र्यौली थलो, जीवित संस्कृतिको भण्डारसमेत रहेको घले गाउँमा घलेहरुका पूर्वज राजा क्याल्बु घलेको शालिक राखी पार्कसमेत बनाइ यसलाई ऐतिहासिक थलोका रुपमा विकास गर्न घले समुदाय कस्सिएका छन् । सोही क्रममा घलेगाउँमा देशभरबाट घले अगुवाहरु आइपुगेका थिए ।
घलेहरुको राष्ट्रिय भेलाको नाम दिइएको सो भेलामा क्याल्बु घलेको शालिक र पार्क निर्माणका लागि र ११ लाख सङ्कलन भएको बताइएको छ । भेलाले घलेहरुको ऐतिहासिक थलोको संरक्षण, संवद्र्धन र विकास गर्न विभिन्न निर्णय गरेको छ ।