वीरगन्ज, ५ वैशाख । नेपाल पत्रकार महासङ्घ पर्सा शाखाले पत्रकारिता पेसालाई मर्यादित र व्यावसायिक बनाउनका लागि व्यक्तिगत सवारी साधन मोटरसाइकलमा लेखिएको ‘प्रेस’ शब्द हटाउनका लागि शुक्रबारबाट अभियान सञ्चालन गरेको छ ।
पत्रकारिता पेसालाई व्यावसायिक र मर्यादित बनाउनका लागि आफूहरुले यस्तो निर्णयसहितको अभियान सञ्चालन गरेको नेपाल पत्रकार महासङ्घ पर्सा शाखाका अध्यक्ष श्याम बञ्जराले बताए ।
उनले नै मोटरसाइकलमा लेखिएको प्रेस शब्द मेटाएर अभियानको सुभारम्भ गरेका थिए । सो क्रममा महासङ्घ पर्सा शाखाका कोषाध्यक्ष अनुप तिवारी, क्रान्तिकारी पत्रकार सङ्घ पर्सा शाखाका अध्यक्ष आरके पटेल, रिपोटर्स क्लब पर्साका अध्यक्ष कन्हैया गुप्ता, पत्रकार कुबेरचन्द्र गौतमलगायतका सञ्चारकर्मीले आ–आफ्नो सवारी साधनमा लेखिएको प्रेस शब्द मेटाएर पत्रकार महासङ्घ पर्सा शाखाको अभियानमा साथ दिएका छन् ।
जथाभावी प्रेस शब्दलेखि पत्रकारिता पेसालाई बद्नाम गराउनेको सङ्ख्या पछिल्ला दिनमा गुनासो बढेपछि वैशाख ४ गते सम्पन्न भएको पत्रकार महासङ्घ पर्सा शाखाको बैठकले सवारी साधनमा लेखिएका प्रेस शब्द मेटाउनका लागि अभियान सञ्चालन गर्ने निर्णय गरेको थियो ।