
जुम्ला, ५ वैशाख – पाटनमा चौरीगाई लिन गएका चन्दननाथ– १ तलिचौर गाउँका ३६ वर्षीय एक युवकको भिरबाट लडेर ज्यान गएको छ ।
जुम्ला गुठीचौरी– १ चुत्रा गाउँको माथिल्लो पाटनमा रहेका आफ्ना चौरीगाईलाई भालुले मार्ने गरेको खबर सुनेपछि चौरी लिन गएका तलिचौर गाउँका देवीदत्त देवकोटा भिरबाट लडेको स्थानीय गोठालाले जानकारी दिएका थिए ।
घाइते देवकोटालाई उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा ल्याउँदै गर्दा बिच बाटामै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
देवकोटाको टाउकोमा बढी चोट परेको र सदरमुकामबाट करिब १२ घण्टाको पैदल यात्राको बाटो भएका कारण यथाशीघ्र उपचार पाउन नसकेकोले मृत्यु भएको चिकित्सकले बताएका छन् ।
उनको शव परीक्षण पछि आफन्तलाई जिम्मा लगाई सकिएको शिक्षण अस्पतालले जानकारी दिएको छ । मृतक देवकोटाको आजै दाहसंस्कार गरिने परिवारिक स्रोतले जनाएको छ ।