
भक्तपुर, ५ वैशाख । आठरात नौ दिनसम्म मनाइने बिस्केट जात्राको अन्तिम दिन आज बिहान स्थानीय कुमाले टोलमो लिङ्गो ढालेर यस वर्षको लिङ्गो जात्रा सम्पन्न भएको छ ।
प्रत्येक वर्ष चैत मसान्तका दिन बिहान तान्त्रिक विधिअनुरूप पूजाअर्चना गरी कुमाले टोलमा उभ्याइएको उक्त लिङ्गो विधिपूर्वक रूपमा पूजाअर्चना गरेर आज बिहान ढालिएको हो । हात नभएको लिङ्गो जात्रालाई स्थानीय भाषामा ल्हा मरुम्ह ल्योसिंद्यो भन्ने गरिन्छ ।
गएको चैत २७ गते भैरवनाथ र भद्रकालीको रथ तानेर सुरु भएको बिस्केट जात्रा आज पनि अपराह्नबाट भैरवनाथ र भद्रकालीकै रथ तानेर विधिपूर्वक रूपमा सम्पन्न गरिने परम्परा रहेको छ । आज अपराह्न गःहिटीबाट तौमढीका तल र माथिका बासिन्दाले तान्ने क्रममा ढुङ्गा हान्ने तथा झगडा पर्न नदिन आज भक्तपुर नगरक्षेत्रमा व्यापक प्रहरी परिचालन गरिएको छ ।
बिस्केटको लिङ्गो जात्रा हेर्नाले शत्रु नाश हुन्छ भन्ने धार्मिक मान्यता रहेको यस जात्रालाई शत्रुहन्ता जात्रा पनि भनिन्छ ।
निमित्त प्रमुख जिल्ला अधिकारी डमरुप्रसाद निरौलाले आज जात्रा शान्तिपूर्ण रूपमा सम्पन्न गर्न सुरक्षाका लागि जनपथ प्रहरी, सशस्त्र प्रहरी र सादा पोसाकका गरी एक हजार ३०० भन्दा बढी सुरक्षाकर्मी परिचालन गरेको जानकारी दिए ।