
काठमाण्डु, ५ वैशाख – पश्चिमा राष्ट्रहरु पैसा लगानी गरेर शान्ति प्रक्रिया भाँड्न लागेको एकीकृत माओवादीले आरोप लगाए लगत्तै अमेरिकी राजतूद पीटर डब्लू बोडेले एकीकृत माओवादीका अध्यक्ष प्रचण्डलाई भेटेका छन् ।
प्रचण्ड निवास लाजिम्पाट पुगेर बोडेले प्रचण्डसँग भेट गरी शान्ति प्रक्रियाबारे छलफल गरेका हुन् ।
भेटमा प्रचण्डले सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता छानवीन आयोगसम्बन्धी विधेयक पारित हुने गरी वातावरण बनाउन अमेरिकी राजदूतलाई आग्रह गरेका थिए ।
प्रचण्डले मेलमिलापलाई केन्द्रमा राखेर विधेयक आएपनि गंभीर प्रकृतिका अपराधमा समेत माफी दिने व्यवस्था नभएको र त्यो हल्ला मात्रै भन्दै सहयोग गर्न गरेको आग्रहमा बोडेले सहयोग गर्ने बताएको प्रचण्डका स्वकीय सचिव चुरामणि खड्काले बताए ।
अमेरिकी राजदूत बोडेले दुवैको स्पिरिट मिलेको प्रतिक्रिया दिएका थिए ।
आज नै नर्वेका राजदूत विजल टोरमोड पिटरसनले प्रचण्डलाई भेट्ने कार्यक्रम छ । एकीकृत नेकपा माओवादीले शान्ति प्रकृया विथोल्न पश्चिमा राष्ट्रले लगानी गरेको बताएपछि पश्चिमा राष्ट्र संशकित भएका छन् ।