सुशीलबाट युनियन देउवालाई बुझाएको आरोप लागेपछि पोखरेलको राजीनामा फिर्ता

काठमाण्डु टुडे २०७१ वैशाख २ गते १३:१४ मा प्रकाशित

काठमाण्डु, २ वैशाख– नेपाली कांग्रेसनिकट पत्रकारहरुको संस्था प्रेस युनियनका केन्द्रीय अध्यक्ष किरण पोखरेलले पदबाट दिएको राजीनामा फिर्ता लिएका छन् kiran pokhrel
पार्टी सभापतिसमेत रहेका प्रधानमन्त्री सुशील कोइराला, महामन्त्री कृष्ण सिटौला र प्रवक्ता दीलेन्द्रप्रसाद बडुको दबाबमा पोखरेलले राजीनामा फिर्ता लिएका हुन् ।

पत्रकार महासंघको अधिवेशन तयारीका सिलसिलामा मध्यपश्चिम र पश्चिमाञ्चलका विभिन्न जिल्लाको भ्रमण सकेर काठमाण्डु आएलगत्तै उनले आइतबार एक्कासि राजीनामा घोषणा गरेका थिए । उनले प्रेस युनियनभित्रको फोहोरी राजनीतिवाट अलग हुन चाहेकाले राजीनामा दिएको बताएका थिए ।
त्यसलयत्तै युनियन केन्द्रीय कार्यसमितिको आकस्मिक बैठकले राजीनामा फिर्ताका लागि गरेको आग्रह पोखरेलले अस्वीकार गरेका थिए । पोखरेलको राजीनामापछि वरिष्ठ उपाध्यक्ष बद्री सिग्देललाई कार्यबाहक अध्यक्ष बनाइएको थियो । सिग्देल वरिष्ठ नेता शेरबहादुर देउवा निकट मानिन्छन् ।

स्रोतका अनुसार सिग्देल कार्यबाहक अध्यक्ष भएसँगै युनियन देउवाको हातमा गएको भन्दै संस्थापन पक्षले पोखरेललाई राजीनामा फिर्ताका लागि दबाब दिएको हो । पोखरेलले पत्रकार महासंघको आगामी वैशाख २१ र २२ गते काठमाण्डुमा हुने महाधिवेशनमा अध्यक्षको उम्मेदवारी घोषणा गरिसकेका छन् ।

अध्यक्षमा उठ्न उनले महामन्त्री सिटौला र सञ्चारमन्त्रीसमेत रहेका नेता मिनेन्द्र रिजालको समर्थनसमेत पाइसकेका थिए । अघिल्लो साता हेटौंडामा युनियन केन्द्रीय समितिको बैठक सकेर आफ्नो स्थिति बुझ्न पश्चिमतर्फ लागेका उनलाई आफ्नै कार्यकर्ताबाट अभद्र व्यवहार भयो ।

पोषण केसीलाई युनियनका तर्फबाट अध्यक्षको उम्मेदवार नबनाए अपहरण गर्ने सम्मका धम्की आफ्नैले दिए ।  आफ्नै कार्यकर्ताको व्यवहारका कारण निराश भएर काठमाण्डु फर्किएका उनले प्रेस युनियनको अध्यक्षबाट राजीनामा दिनुका साथै महासंघ अध्यक्षमा समेत दाबेदारी छाडेको बताएका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us