तेत्तीस सय वर्ष पुरानो उग्रतारा बज्रयोगिनी माइको जात्रा सुरु

काठमाण्डु टुडे २०७१ वैशाख २ गते १०:१५ मा प्रकाशित

सुन्दरीजल,२ वैशाख । ऐतिहासिक सांस्कृतिक, धार्मिक र पर्यटकीय दृष्टिले महत्वपूर्ण तीन हजार ३०० वर्ष पुरानो उग्रतारा बज्रयोगिनी माइको जात्रा आजदेखि शङ्करापुर(साँखु)मा सुरु भएको छ ।

करिब तीन हजार ३०० वर्ष अगाडि साँखु महानगरका राजा शङ्खरदेवले आफ्नो राज्यअन्तर्गतका सात वटा गाउँमा सुखशान्ति मिलोस् कल्याण होस् र खेतीपाती राम्रो होस् भन्ने कामनाका साथ यो जात्रा चलाएका थिए ।

यो जात्राका क्रममा बज्रयोगिनी माइको मन्दिरबाट बज्रयोगिनीको सुनको जलप लगाएको प्रतिमूर्ति, सिंहिनी, व्याधिनी र स्वयम्भूको गरी चार वटा मूर्ति दुई किमी तल साँखु बजारमा झारिन्छ ।

नेपालकी शिरोमणि देवी बज्रयोगिनी माताबाट राजा र प्रजालाई दर्शन दिने उद्देश्यले यी चार मूर्ति तल बजारमा झार्ने चलन चलाइएको इतिहासविद् प्रकाशमान श्रेष्ठ ‘सक्त’ले बताए ।

आज यी चार मूर्ति साँखुमा झारेपछि ऐतिहासिक साँखु नगरका गागल, पालुबारी, लप्सेफेदी, इन्द्रमणि, चाँगु, र धूँवारीचोक गरी सात गाउँमा चार दिनसम्म खेतीपातीका काम नगर्ने चलन रहेको पनि उनले बताए ।

चैत्रशुल्क पूर्णिमादेखि वैशाख कृष्ण अष्टमीसम्म चल्ने यो जात्रा व्यवस्थापनका लागि पुखुलाछी गाविसका पूर्व गाविस अध्यक्षको संयोजकत्वमा मूल जात्रा व्यवस्थापन समिति गठन गरिएको छ ।

ऐतिहासिक महत्वको यो जात्रामा जयप्रकाश मल्लको पालासम्म राजा आफैँ अगाडि लगेर आदेश दिँदै यो जात्रा चलाउने गरिएकोमा पृथ्वीनारायण शाहले काठमाडौँ उपत्यका एकीकरण गरेपछि भने राजाको खड्गलाई अगाडि लगाई जात्रा सम्पन्न गर्ने गरिएको इतिहासविद् श्रेष्ठले बताए ।

जात्रा चलाउनका लागि हनुमानढोका दरबारबाट खड्ग ल्याइ हिजै पुखुलाछीस्थित लायकु गणेश पाटीमा राखिएको मूल व्यवस्थापन समितिका संयोजक श्रेष्ठले बताए ।

ऐतिहासिक महत्वको यो जात्रा चलाउन १० लाग्ने भए पनि गुठी संस्थानले उपेक्षा गरेर रु ९५ हजार मात्र दिएको गुनासो मूल व्यवस्थापन समितिका संयोजक श्रेष्ठले गरे ।

काठमाडौँ उपत्यकामा जमेको पानीलाई चोभारबाट उपत्यका बाहिर कटाएपछि ओभानो बनेको उपत्यकामा साँखु नै पहिलो र ऐतिहासिक बस्ती भएको इतिहास रहेको स्थानमा तीन हजार ३०० वर्ष अघिदेखि चलेको जात्रा उपत्यकाकै पुरानो जात्रमा पर्ने भएकाले यसको विशेष महत्व रहेको इतिहासविद् श्रेष्ठले बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us