सामुदायिक वनबाट सल्किएको डढेलोले घर जल्यो

काठमाण्डु टुडे २०७१ वैशाख २ गते १०:१३ मा प्रकाशित

खोटाङ, २ वैशाख । खोटाङमा सामुदायिक वनबाट सल्किएको डढेलोले एक घर जलेर नष्ट भएको छ ।

स्थानीय रानी सामुदायिक वनबाट सल्किएको डढेलोले बासपानी–३ का पदमबहादुर खड्काको दुई तले घर जलेर नष्ट भएको हो ।

आइतबार मध्याह्नदेखि सुरु भएको डढेलोले सोमबार जङ्गल नजिक घर रहेको खड्काको रु तीन लाख १८ हजार बराबरको क्षति भएको प्रहरीले जनाएको छ । आगलागीमा खड्काको डेढ तोला सुन, नगद ८८ हजार, डिस्क होम टिभी, अन्न, भाँडाकुँडा, टेबल, दराजलगायतका धनमाल जलेको इलाका प्रहरी कार्यालय ऐसेलुखर्कले जनाएको छ ।

आगलागीमा घर जलेपछि खड्काको पाँच जनाको परिवार अहिले छिमेकीको घरमा आश्रय लिइरहेका छन् । सामुदायिक वनमा लागेको डढेलो नियन्त्रणको प्रयास जारी रहेपनि हावाहुरीका कारण अहिलेसम्म डढेलो नियन्त्रणमा लिन नसकिएको स्थानीयवासीको भनाइ छ ।

तापखोला दक्षिणतिरबाट लागेको डढेलोले सामुुदायिक वनको अधिकांश क्षेत्र विनास गरिसकेको छ । सामुदायिक वनमा डढेलो लाग्नुको कारण अझै थाहा हुन सकेको छैन । हालसम्म रु ३० लाख बराबरको वनपैदावर विनास भएको प्रहरीले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us