
धादिङ, २ वैशाख– भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री विमलेन्द्र निधिले प्रमुख प्रतिपक्षी एकीकृत माओवादीसँग सरकारले वार्ता गर्ने बताएका छन् ।
धादिङ सदरमुकाममा मंगलबार सञ्चारकर्मीसँग कुरा गर्दै उनले माओवादीको असन्तुष्टि वार्ताबाटै समाधान गर्ने बताएका हुन् ।
सशस्त्र द्वन्द्वका घटनामा संलग्न रहेको आरोपमा देशभरबाट आफ्ना कार्यकर्ता पक्राउ गर्न थालिएको भन्दै माओवादीले सरकारसँग वार्तामा नबस्ने बताएलगत्तै मन्त्री निधिको यस्तो भनाइ बाहिर आएको हो ।
माओवादीले भने पक्राउ परेका कार्यकर्ताको रिहाइ नभए सडक र सदनबाट आन्दोलन थाल्ने बताएको छ । मन्त्री निधिले अदालतले गरेका काममा सरकारले हस्तक्षेप गर्न भने नमिल्ने बताए ।
‘माओवादीको असन्तुष्टिका बारेमा सरकारले वार्ता गर्छ’, निधिले भने, ‘मलाई विश्वास छ माओवादी वार्तामा आउँछ ।’ निधिले एमाओवादीले संविधान लेखन प्रक्रियामा अवरोध नगर्ने विश्वास समेत व्यक्त गरे ।