
काठमाण्डू २ वैशाख । सरकारले राहदानी वितरण प्रणालीलाई अझ व्यवस्थित, सहज एवम् सेवाग्राहीमैत्री बनाउन आजदेखि थप तीनवटा आवेदन फाराम सङ्कलन केन्द्र सञ्चालन गरेको छ ।
राहदानी विभागमा सेवाग्राहीको बढ्दो भीडभाड र उनीहरूले झेल्नु परेको सास्तीलाई दृष्टिगत गरी सरकारले विद्यमान छवटा फाराम सङ्कलन काउन्टरलाई बढाएर नौवटामा पुरयाएको हो ।
राहदानी लिने सर्वसाधारणको भीड राहदानी विभागमा सधैँ लागिरहने र सेवाग्राहीले सास्ती खेप्नुपरेकाले उनीहरूलाई राहत दिन काउन्टर थपिएको विभागका महानिर्देशक रमेशप्रसाद खनालले बताए ।
अब राहदानी वितरणमा पनि सहजता ल्याउन कम्प्युटर इन्जिनियरलगायत १५ जना जनशक्तिको व्यवस्था गर्न विभागले प्रयास गरेको जानकारी दिँदै उनले अर्थ मन्त्रालयबाट दरबन्दी स्वीकृत हुनासाथ वितरण प्रक्रियालाई सरल एवम् सहज बनाइने बताए ।
मौजुदा कम्प्युटर इन्जिनियर र अन्य प्राविधिक कर्मचारीले बिहान ७ देखि राति ७ बजेसम्म काम गरेर दैनिक आठ हजारको हाराहारीमा राहदानी तयार गरिरहेका छन् तर पर्याप्त जनशक्तिको अभावमा तयार भइसकेका राहदानी वितरण विभागलाई चुनौती बनेको छ।
यसैबीच, परराष्ट्र मन्त्री महेन्द्रबहादुर पाण्डेले १५ जना जनशक्ति विभागलाई उपलब्ध गराउन सरकार सकारात्मक रहेको बताउँदै त्यसबारेमा आफूले अर्थमन्त्रीसँग छलफल गरेको जानकारी दिएका छन् । ।
चार वर्षको अवधिमा विभागले तीन लाख ३१ हजारभन्दा बढी राहदानी नवीकरण, हराएका ६९ हजार ६७४ र हस्तलिखित तीन लाख २६ हजार ८४५ राहदानी प्रतिस्थापन गरिसकेको छ ।
सन् २०१५ को अक्टोबर २४ सम्ममा विश्वभरमा एमआरपी लागू गरी सक्नुपर्ने अन्तर्राष्ट्रिय नागरिक उड्ड्यन सङ्गठनको नियमानुसार नेपालमा पनि एमआरपी लिनेहरूको घुइँचो बढेको हो । साथै वैदेशिक रोजगारीमा जानेहरूको सङ्ख्या बढेकाले पनि राहदानी लिनेको लर्को लाग्ने गरेको छ ।