एमाओवादीलाई वार्तामा आउन सरकार समर्थितको अपिल

काठमाण्डु टुडे २०७१ वैशाख २ गते १०:४५ मा प्रकाशित

Baluwatar काठमाण्डु, २ वैशाख– सरकारमा सहभागी र सरकार समर्थित दलहरुले द्वन्द्वकालिन घटना ब्युँताइएको भन्दै आन्दोलन घोषणा गरको एकीकृत माओवादीलाई वार्तामा आउन अपिल गरेका छन् ।
प्रधानमन्त्री सुशील कोइरालाको आह्वानमा बालुवाटारमा मंगलबार बसेको ती दलको बैठकले संसद र संविधानसभाका काम प्रभावित हुने गरी कुनै पनि गतिविधि नगर्न माओवादीलाई आग्रह गरेको हो ।

गोरखा फुजेलका कृष्णप्रसाद अधिकारी हत्या अभियोगमा चितवन प्रहरीले १३ जनाविरुद्ध सर्वस्वहरणसहित जन्मकैदको माग गर्दै जिल्ला अदालतमा मुद्धा दायर गरेकामा आपत्ति जनाउँदै माओवादीले सरकारसँग वार्ता नगर्ने तथा व्यवस्थापिका संसद बहिस्कार गर्ने निर्णय गरेको थियो ।

बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै काँग्रेस उपसभापति रामचन्द्र पौडेलले संसद र संविधानसभालाई कसैले पनि बन्धक बनाउने नहुने बताए । ‘एमाओवादीलाई संसद र संविधानसभाका गतिविधि प्रभावित हुने काम नगर्न आग्रह गर्ने निर्णय भएको छ’, पौडेलले भने, ‘एमाओवादी सरकारको प्रतिपक्षी भए पनि संविधानसभामा प्रतिपक्षी होइन ।’

राष्ट्रिय जनमोर्चा अध्यक्ष चित्रबहादुर केसी र नेमकिपा अध्यक्ष नारायणमान बिजुक्छेले सत्यनिरुपणका नाममा अपराधीलाई उन्मुक्ति दिन नमिल्ने बताए ।
द्धन्द्धकालको मुद्धा ब्युँताइएकाे विरोधमा अान्दोलन घोषणा गरेको एकीकृत माओवादीले भने बैठक बहिस्कार गरेको छ ।

पार्टी केन्द्रीय कार्यालय कोटेश्वर पेरिसडाँडामा म‌गलबार बिहान बसेको केन्द्रीय कार्यलयको बैठकले दिउँसो बस्ने सर्वदलीय बैठक बहिष्कार गर्ने निर्णय गरेको थियो ।  माओवादीले सोमबार बसेको तीन दलको बैठक समेत बहिष्कार गरेको थियो । मुद्धा चलाइएका कार्यकर्ता नछाडे संसद र सडक दुवैतिरबाट आन्दोलन गर्ने चेतावनी माओवादीले  दिइसकेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us