
चितवन, २ वैशाख । चितवनका अभिभावकले अझै पनि छोरालाई निजी र छोरीलाई सरकारी विद्यालयमा पढाउने गरेको पाइएको छ ।
जिल्ला शिक्षा कार्यालयको तथ्याङ्कले यस्तो देखाएको हो । सबैको हकमा यो लागू नभएपनि केहीमा भने अझै पनि समस्या देखिएको छ । जिल्ला शिक्षा कार्यालयका अनुसार गत शैक्षिकसत्रमा सामुदायिक विद्यालयमा ५३.३४ प्रतिशत छात्राले अध्ययन गरेकोमा संस्थागततर्फ भने ४६.५३ प्रतिशत छात्राले मात्र अध्ययन गरेका थिए ।
गत शैक्षिक सत्रमा चितवनमा एक लाख ५९ हजार २३२ जना विद्यार्थी अध्ययनरत थिए । जिल्ला शिक्षा अधिकारी रमाकान्त शर्माले कुल विद्यार्थीको सङ्ख्यामा छात्रा बढिरहेको बताए । छात्राको सङ्ख्या ८० हजार ७४५ अर्थात् ५०.७४ प्रतिशत रहेको छ भने छात्रको सङ्ख्या ७८ हजार ३७८ अर्थात् ४९.२६ प्रतिशत रहेको छ ।
जिल्ला शिक्षा अधिकारी शर्माले छोराछोरीबीचको विभेद चितवनमा शिक्षामा अझै पनि रहेको बताए । जिल्लामा विद्यालय बाहिर दुई प्रतिशतमात्र विद्यार्थी रहेको उल्लेख गर्दै उनले ती विद्यार्थीमा छात्र÷छात्रा सङ्ख्या पहिचान नभएको जिकिर गरे ।