
काठमाण्डु, २ बैशाख –क्रान्तिकारी पत्रकार महासंघले नेपाल पत्रकार महासंघको आसन्न चुनावमा वामपन्थी पत्रकार एक भएर जानु पर्नेमा जोड दिएको छ ।
चितवनमा बसेको महासंघको बैठकले सम्पूर्ण वामपन्थी पत्रकारबीच एकता गरेर चुनावमा जाने निर्णय गरेको हो ।
तर एकता हुन नसकेमा प्रेस यूनियनसँग पनि सहकार्यको ढोका खुल्ला राख्दै कसैसँग सहकार्य हुन नसके एक्लै प्यानल बनाएर चुनावमा जाने निर्णय गरेको स्रोतले जनाएको छ । एकता र सहकार्यका लागि वार्ता गर्न अध्यक्ष कुमार शाहको नेतृत्वमा पाँच सदस्यीय वार्ता समिति गठन गरेको छ ।
समितिमा प्रभात चलाउने, दीपेन्द्र रोकाया, राजु लामा र धमेन्द्र कर्ण छन् ।
एकता वा सिंगल प्यानल जुन अवस्थामा चुनावमा जाने भएपनि त्यसको नेतृत्व प्रभात चलाउनेले गर्ने निर्णय बैठकले गरेको महासंघले जनाएको छ । वार्ता गर्दा महासचिवमा वा उपाध्यक्षमा दावी गर्ने पनि स्रोतले जनाएको छ ।
आफ्ना सभाषद मात्रै १ सय ३० जना भन्दा धेरै निर्वाचित भएर आएको र शुभेच्छुक गरी एक सय ५० भोट आफ्नो पक्षमा रहेको क्रान्तिकारी महासंघले दावी गरेको छ ।