
मस्को, १८ चैत – रसियाको ऊर्जा कम्पनीले युक्रेनका लागि ग्यासको भाउ बढाएको छ । रसियाले अन्यत्रको निर्यातमा नभई युक्रेनका लागि मात्र ग्यासको भाउ बढाएको समाचारमा जनाइएको छ ।
रसियाको एक उर्जा निर्यात कम्पनी ग्याजपोर्मले युक्रेनका लागि निर्यात गरिने ग्यासमा यसअघिको तुलनामा दुई तिहाई भन्दा पनि बढी दरमा भाउ बढाएको ।
ग्याजपोर्मका प्रमुख कार्यकारी अधिकृत अलेक्सेई मिलरले युक्रेनका लागि सो भाउमा कम्तीमा पनि दुई तिहाइभन्दा केही मात्रामा बढी रुपमा वृद्धि गरिएको घोषणा मंगलबार गरेका छन् ।
यसअघि सो देशमा निर्यात गरिने ग्यासमा रसियाले सहुलियत पनि दिँदै आएको थियो । तर अब सो व्यवस्था पनि कटौती गरिएको जनाएको छ ।
प्रमुख कार्यकारी अलेक्सेइले भनेका छन्– सन् २०१३ का लागि उधारो उपलब्ध गराइएको ग्यासको ऋण तिर्न नसकेकोले सो सहुलियत पनि काटिएको छ ।
अब भने पहिलाकै दररेटमा र पहिलाकै सहुलियतमा ग्यास उपलब्ध गराउन नसकिने स्पष्टिकरण सो विज्ञप्तिमार्फत उनले दिएका छन् ।
हालैमात्र युक्रेनमा विद्रोह भएपछि रसियाले त्यसको विरोध गर्दै आएको छ । जसका कारण युक्रेनको क्रिमिया प्रान्त नै रसियामा विलय भइसकेको छ ।
उक्त प्रक्रियाको युक्रेन र पश्चिमा राष्ट्रहरुले विरोध गर्दै आएका छन् । रसियाले पनि युक्रेनलाई पश्चिमा राष्ट्रहरुले आफू विरुद्ध उतारेको बताउँदै आएको छ ।
यसै समयमा आएर रसियाले युक्रेनका लागि निर्यात गरिने ग्यासमा मात्र मूल्य वृद्धि गर्नुलाई संयोगका रुपमा मात्र हेर्न नमिल्ने विश्लेषकहरुको भनाइ छ ।