भूउपग्रहद्वारा तीनसयवटा थप तस्वीरहरु प्राप्त

काठमाण्डु टुडे २०७० चैत १४ गते २:५० मा प्रकाशित

थाइल्याण्डको अन्तरिक्ष संस्थाले उसको एउटा भूउपग्रहले मलेसियाली यात्रुवाहक विमान हराइरहेको हुनसक्ने ठानिएको दक्षिणी हिन्द महासागरको क्षेत्रमा झण्डै तीनसयवटा तैरिरहेका वस्तुहरुको तस्वीर खिचेको जनाएको छ।sattalate

ती वस्तुहरु दुई देखि पन्ध्र मिटरसम्म लामो भएको बताइएको छ। झण्डै तीन साताअघिदेखि हराइरहेको मलेसियाली वायुसेवाको विमान दुर्घटनाग्रस्त भएको बताइएपनि भग्नावशेषहरु भने अझै भेटिएका छैनन्।

एउटा फ्रान्सेली भूउपग्रहले हराइरहेको विमानको भग्नावशेष हुनसक्ने ठानिएका झण्डै एकसय बीसवटा वस्तुहरुको तस्वीर खिंचेको थियो।त्यसको एक दिनपछि थाइल्याण्डको एउटा भूउपग्रहले सैयौं त्यस्ता वस्तुहरुको तस्वीर खिंचेको हो।तर बिहीबार पनि खराब मौसमका कारण दक्षिणी हिन्द महासागरमा हराइरहेको विमानको खोजी कार्य स्थगित गरिएको छ।

अष्ट्रेलियाली अधिकारीहरुले विमानहरु पर्थ स्थित विमानस्थलमा फर्किरहेका तर पानी जहाजहरुले भने तिनका खोजी कार्य जारी राख्‍ने जनाएका छन्।

यात्रु तथा चालक दलका सदस्यहरुसमेत गरी दुईसय उनन्चालिस जना सवार सो विमानका अधिकांश यात्रुहरु चिनियाँ थिए। चिनियाँ विदेश मन्त्रालयका एकजना प्रवक्ता होङ लिले भने, “मलेसियाली वायुसेवाको विमान सम्पर्क विच्छेद भएको आज १९ दिन भयो। अहिले हाम्रो प्राथमिकता भनेको खोजी कार्य नै हो। हामी सँधै सावधान रहनेछौं र खोजी कार्य कहिल्यै रोक्नेछैनौं।“प्रवक्ता लिले अहिले आठवटा चिनियाँ पानी जहाजहरु खोजी कार्यमा संलग्न रहेको पनि बताए।

अहिले चीनबाहेक अष्ट्रेलिया, न्यूजिल्याण्ड, संयुक्त राज्य अमेरिका, जापान र दक्षिण कोरियाका विमान तथा पानी जहाजहरुले खोजी कार्यमा भाग लिइरहेका छन्। खोजी कार्यको समन्वय अष्ट्रेलियाले गरिरहेको छ।

विमान आकाश मै किन मोडियो र वायु यातायात नियन्त्रकहरुसंग उसको सम्पर्क कसरी टुट्यो भन्ने रहस्य चाहिं कायमै छ। अनुसन्धानकर्ताहरुले यान्त्रिक, विद्युतीय गडबडी, अपहरण, विष्फोट वा चालकले नै जानी जानी त्यसो गरेको हुनसक्ने लगायतका विभिन्न संभावनाहरुबारे जाँच गरिरहेका छन्।

चिनको सरकारी समाचार संस्था सिन्ह्वाले चिनियाँ बीमा कम्पनीहरुले उक्त विमानका यात्रुका परिवारहरुलाई बीमा रकम दिन शुरु गरेका जनाएको छ।

यस अघि मलेसियाका प्रधानमन्त्री नजीब रजाकले हराइरहेको मलेसियाली विमान दक्षिणी हिन्द महासागरमा दुर्घटनाग्रस्त भएको र कोही पनि नबाँचेको घोषणा गरेका थिए।

क्वालालम्पुरमा सोमबार राती आयोजित एक पत्रकार सम्मेलनलाई संबोधन गर्दै उनले भूउपग्रहबाट प्राप्त तथ्याँकहरुको विश्लेषणको आधारमा उक्त विमानको उडान अष्ट्रेलियाको पर्थ शहरभन्दा पश्चिमतर्फ विकट सामुद्रिक क्षेत्रमा टुँगिएको बताएका थिए।

क्वालालम्पुरबाट बेईजिंग जांदै गरेको उक्त विमानले मलेसियाको पू्र्वमा पर्ने दक्षिण चीन सागर माथ‌िबाट अन्तिम पटक हवाइ नियन्त्रण कक्षसंग सम्पर्क गरेको थियो। BBC

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us