राष्ट्रिय सहकारी महासम्मेलनको राष्ट्रपतिबाट उद्घाटन

काठमाण्डु टुडे २०७० चैत ११ गते १२:१६ मा प्रकाशित

काठमाण्डु, ११ चैत – राष्ट्रिय सहकारी महासम्मेलन मंगलबारदेखि राजधानीमा सुरु भएको छ महासम्मेलनको राष्ट्रपति डा. रामवरण यादवले आज काठमाडौंको दशरथ रङ्गशालामा राष्ट्रिय झण्डा झण्डोत्तलन गरी उद्घाटन गरे ।

गरिबी, पछौटेपन, एकता, पुँजी सङ्कलन र बचत परिचालन, सामाजिक, साँस्कृतिक र आर्थिक विकासमा सहकारीको महत्वलाई थप प्रचारप्रसार गरी आर्थिक विकास गर्ने नयाँ सोच र दृष्टिकोणबाट राष्ट्रिय सहकारी सम्मेलनको आयोजना गरिएको हो ।

कार्यक्रममा राष्ट्रपति डा. यादवले धनी र गरिबबीचको अन्तरलाई कम गरी समावेशी बनाउन सहकारीकर्मी पारदर्शी भएर अगाडि बढ्न आवश्यक रहेको धारण व्यक्त गरे ।

उनले समुदायमा आधारित स्रोत र परिचालनबाट दिगो विकास सम्भव हुने बताउँदै विपन्न र पिछडिएका वर्गको आर्थिक अवस्थामा सुधार ल्याउन सहयोग पु¥याउनु सरकार र सहकारी अगुवाहरुको कर्तव्य भएको बताए ।

राष्ट्रपति डा. यादवले नेपालमा ग्रामीण महिला सहकारीमा आवद्ध भई छरिएको स–साना पुँजीलाई एकीकृत गरी कृषि उत्पादन जुटेकाले अर्थतन्त्रमा थप बल पुगेको बताए ।

विसं २०१३ चैत २० गते नेपालमा पहिलो पटक चितवन जिल्लामा स्थापना भएको बखान सहकारी संस्था नै नेपालको पहिलो सहकारी संस्था हो । पहिलो सहकारी संस्था स्थापना भएको करिब ५८ वर्षपछि पहिलो पटक नेपालमा प्रथम राष्ट्रिय सहकारी सम्मेलन भएको हो ।

कार्यक्रममा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराइले सहकारीमार्फत स्वरोजगारका लागि वितरण हुँदै आएको रकम पारदर्शी हुनुपर्ने बताए ।
अर्थमन्त्री डा. रामशरण महतले मुलुकको दिगो आर्थिक विकासमा सहकारीको योगदान उल्लेखनीय रहेको बताए ।

वन तथा भू–संरक्षणमन्त्री महेश आचार्यले २०४८ सालमा सहकारी ऐन आएपछि नेपालको सहकारी विकास संस्थागत बन्दै गएको धारणा राखे ।
सहकारी तथा गरिबी निवारण मन्त्रालय, सहकारी विभाग र राष्ट्रिय सहकारी सङ्घको संयुक्त आयोजनमा प्रारम्भ भएको महासम्मेलन दुई दिनसम्म जारी रहने छ ।

‘सहकारीमार्फत दिगो आर्थिक विकास र सामाजिक न्याय’ भन्ने नाराका साथ सुरु भएको उक्त सम्मेलनमा अन्तर्राष्ट्रिय सहकारी महासङ्घ (आइसिए) का अध्यक्ष डोम पाएलिन ग्रिनले छरिएको पुँजी सङ्कलन गर्ने महिलाहरु सहकारीका अगुवा सदस्य भएको बताए ।

उनले विश्वमा करिब एक अर्ब मानिस सहकारीमा आबद्ध भई सामाजिक न्याय र आर्थिक विकासमा जुटेको जानकारी दिए ।

महासम्मेलनमा विश्व सहकारी अभियानका शीर्ष निकाय, एसियाली ऋण महासङ्घका अध्यक्ष साइमन ए परेरा, बेलायत, चीन, कोरिया, भारत, मलेसिया, श्रीलङ्का, थाइलैन्ड, बङ्गलादेश, भुटान गरी ९ देशका सरकारी तथा सहकारी क्षेत्रका प्रतिनिधिको उपस्थित छ ।

नेपालमा सहकारी नभएको कुनै गाउँ छैन । करिब ३० हजार सहकारी संस्थामार्फत ४८ प्रतिशत महिलासहित ४२ लाख बढी नागरिक सहकारीका सदस्य छन् ।

कूल गार्हस्थ (जिडिपी) मा करिब ३ प्रतिशत र वित्तीय क्षेत्रमा १८ प्रतिशत योगदान पु¥याइआएको सहकारी क्षेत्र एउटा महत्वपूर्ण आर्थिक खम्बाको रुपमा रहेको छ ।

महासम्मेलनमा ६७ जिल्लाका ८६८ सहकारीकर्मीेको सहभागिता छ । चैत १२ र १३ गते सहकारीका विषयमा होटल सोल्टीमा विभिन्न कार्यपत्र प्रस्तुत हुने बताइएको छ ।

सहकारीमा देखिएका विभिन्न किसिमका विकृतिको समाधान, सामाजिक न्याय, रोजगार सिर्जना र गरिबी निवारणमा सहकारीको भूमिका वृद्धि, चेतना जागरण, ऐक्यबद्धता, सहकारीको सुदृढीकरणका लागि सरोकारवाला र सहकारी सङ्घ संस्थाबीच साझा अवधारणा बनाउने विषयमा सम्मेलनमा छलफल केन्द्रित हुने आयोजकले बताएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us