
काठमाण्डु, १० चैत– नेपाली राष्ट्रिय क्रिकेट टिमका प्रशिक्षक पुबुदु दसानायेकेको म्याद थपिने भएको छ ।
म्याद थप सम्बन्धमा निर्णय लिन नेपाल क्रिकेट संघ क्यानको कार्यसम्पादन समितिको बैठक आज बस्दैछ । अपराह्न साढे २ बजे बस्ने बैठकमा आफूले दसानायकेको म्याद थपसम्बन्धी प्रस्ताव लैजाने क्यानका अध्यक्ष टंक आङबुहाङले काठमाण्डु टुडेलाई जानकारी दिए ।
उनका अनुसार अब दुई वर्ष म्याद थपिने सम्भावना छ । कार्यसम्पादन समितिको निर्णयलाई बोर्डले अनुमोदन गरेपछि मात्र औपचारिकता पाउने उनले बताए ।
दासानायेकेले नेपाली क्रिकेटको विकासमा महत्वपूर्ण योगदान दिएको भन्दै उनले म्याद थप गर्ने वा नगर्ने भन्नेमा क्यानमा कुनै विवाद नरहेको दाबी गरे ।
‘म्याद थप गर्ने कि नगर्ने भन्नेबारे कुनै विवाद छैन’, आङबुहाङले भने,‘ कार्यसम्पादन समितिले म्याद थपबारे निर्णय गर्छ ।’ तीन वर्षअघि राष्ट्रिय क्रिकेट टोलीको नेतृत्व सम्हालेका दसानायेकेको म्याद आगामी १७ चैतमा सकिंदैछ ।
नेपाली टिमलाई विश्वकपसम्म पुर्याउन भूमिका खेलेका उनको म्याद थप प्रक्रिया ढिलो भएपछि खेलाडी र क्रिकेटप्रेमी चिन्तित थिए । बंगलादेशमा जारी टी–ट्वेन्टी विश्वकप क्रिकेटमा सहभागी भएर नेपाल फर्केपछि उनले क्यानको व्यवहार परिवर्तन नभए आफू नेपाल नबस्ने बताएका थिए ।
श्रीलंकाली मुलका क्यानेडियन नागरिक उनले श्रीलंका र क्यानडाको राष्ट्रिय टिम सम्हालिसकेका छन् । श्रीलंकाबाट क्रिकेट खेल्न सुरु गरेका उनले क्यानडाको राष्ट्रिय टिमबाट खेल्नुका साथै पछि प्रशिक्षक समेत बनेका थिए ।
उनी नेपाली राष्ट्रिय टिमका सर्वाधिक सफल प्रशिक्षक मानिन्छन् ।