
काठमाण्डु, ९ चैत– राजनधानीमा गणतन्त्र फिजीको वाणिज्य दूतावास स्थापना भएको छ ।
दूतावास स्थापनासँगै उक्त मुलुकले अवैतनिक वाणिज्य दूतमा युवा उद्यमी पारस शाक्यलाई नियुक्त गरेको छ । आज यहाा आयोजित कार्यक्रममा नेपालका लागि फिजीका राजदूत योगेश जे करनले फिजीको झन्डा फहराउँदै दूतावासको उद्घाटन गरे ।
त्यस अवसरमा उनले भौतिक रुपमा फिजी नेपालबाट धेरै टाढा रहे पनि भावनात्मक रुपमा निकट रहेको बताउादै वाणिज्य दूतावास सञ्चालनबाट दुई मुलुकबीच विद्यमान सम्बन्ध अझ प्रगाढ हुने विश्वास व्यक्त गरे ।
शिष्टाचार महापाल कालीप्रसाद पोखरेलले वाणिज्य दूतावास सञ्चालनसँगै नेपाल–फिजीबीच व्यापार, वाणिज्य, पर्यटन, लगानी, रोजगारीका अवसरका साथै जनता–जनताबीचको सम्पर्क स्थापनामा योगदान पुग्ने बताए ।
नवनियुक्त वाणिज्य दूत शाक्यले नेपाल र फिजीबीचको आपसी सम्बन्धलाई नयाँ उचाइमा पुर्याउन हरसम्भव प्रयत्न गरिने प्रतिबद्धता व्यक्त गरे ।
सम्बन्धित मुलुकमा आवासीय राजदूत नभएका देशले ती देशमा कूटनीतिक, आर्थिक एवम् पारस्परिक हित र चासोका विषयमा सहयोग एवम् सम्पर्क विस्तार गर्न वाणिज्य दूतावास सञ्चालन गर्ने अन्तर्राष्ट्रिय प्रचलन छ ।
फिजीको वाणिज्य दूतावास स्थापनासँगै मुलुकमा विदेशी वाणिज्य दूतावासको सङ्ख्या ३३ पुगेको छ । प्रशान्त क्षेत्रको टापु मुलुक फिजीमा झन्डै आठ हजार नेपालीमूलका नागरिक रहेको बताइएको छ । उक्त मुलुकमा हिन्दू, इस्लाम र इसाई धर्मावलम्बीको बाहुल्य छ । नेपाल र फिजीबीच २८ वर्षअघि कूटनीतिक सम्बन्ध स्थापना भएको हो । रासस