औद्योगिक पर्यटन तथा कृषि प्रदर्शनी सुरु

काठमाण्डु टुडे २०७० फागुन २९ गते ११:१७ मा प्रकाशित

इलाम, २९ फागुन – इलाममा कृषि उद्योगको विकासमा सहयोग पु¥याउने उद्देश्यले विहीबारदेखि क्षेत्रीयस्तरको तीनदिने औद्योगिक पर्यटन तथा कृषि प्रदर्शनी सुरू भएको छ ।

इलाम उद्योग वाणिज्य सङ्घ र घरेलु उद्योग विकास समिति इलामको संयुक्त आयोजनामा सदरमुकामस्थित गौतमबुद्ध सभागृहको हलमा सुरू भएको प्रदर्शनीको प्रमुख जिल्ला अधिकारी बाबुराम खतिवडाले उद्घाटन गरे ।

प्रदर्शनीमा पूर्वाञ्चलका खोटाङ, धनकुटा, तेह्रथुम, भोजपुर, पाँचथर, ताप्लेजुङ, इलामलगायतका जिल्लाका गरी १०० उद्यमीले आफ्ना कक्ष राखेका छन् ।

कृषि र पर्यटन क्षेत्रको विकासमा जोड दिने उद्देश्यले पूर्वका किसानले उत्पादन गरेका कृषिउपज प्रदर्शन गर्दै किसानको आर्थिक अवस्थालाई माथि उकास्न प्रदर्शनी गरिएको उद्योग वाणिज्य सङ्घकी अध्यक्ष सुशीला सापकोटाले बताईन् ।

प्रदर्शनीमा खानाका परिकार, दूधका परिकार, चिया, फलफूल, हस्तकला, बाँसबाट बनेका सामग्रीहरू पनि राखिएको छ । ५० हजार अवलोकनकर्ता प्रदर्शनीस्थल आउने अनुमान गरिएको उक्त प्रदर्शनीमा ३० लाखभन्दा बढीको कारोबार हुने अनुमान आयोजकको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us