नदीमा पानी अभावले गहुँखेती प्रभावित

काठमाण्डु टुडे २०७० फागुन २८ गते ११:१६ मा प्रकाशित

जनकपुरधाम, २८ फागुन । सुक्खायाम सुरु भएसँगै कमला नदीमा पानीको सतह घट्दा सिँचाइ अभावका कारण धनुषा तथा सिरहा जिल्लामा पचास प्रतिशत गहुँखेती प्रभावित भएको छ ।

कमला नदीको पानीबाट पश्चिम धनुषाको ५६ गाउँ विकास समितिको १२ हजार ५०० हेक्टर क्षेत्रफल तथा सिरहाको ४० गाउँ विकास समितिको १२ हजार ५०० हेक्टर गरी कुल २५ हजार हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा उपलब्ध हुँदै आएको छ ।

तर सुक्खायाम सुरु भएकाले चुरेबाट पर्याप्तमात्रामा पानी आउन नसक्दा नदीमा पानीको सतह घट्दै गएकाले गहुँखेती प्रभावित भएको कमला सिँचाइ व्यवस्थापन डिभिजन नं ३ पोताहा धनुषाले जनाएको छ ।

कमला नदीको पानीले धानबालीलाई पर्याप्तमात्रामा सिँचाइ पुग्दछ तर गहुँबालीका लागि भने अभाव देखिने भएकाले गहुँखेती प्रभावित हुने गरेको छ डिभिजन प्रमुख रामनरेश मण्डलले बताए ।

बजेट अभावको कारण शाखा नहरहरू जीर्ण भएका र ठाउँठाउँमा भत्केकाले राम्ररी पानी सञ्चालन हुन नसक्दा सिँचाइ कार्य प्रभावित बनेको हो ।

सरकारले दीर्घकालीन योजनाअन्तर्गत सुनकोसी नदीको पानी सुरुङमार्फत कमला नदीमा झार्ने सम्बन्धमा अध्ययनसमेत भएकाले यो योजना सञ्चालनमा आए सिरहा र धनुषामा कृषि क्रान्ति आउने विश्वास किसानको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us