
चितवन, २८ फागुन – व्यावसायिक पशुपालनमा अग्रणी जिल्ला चितवनमा यो वर्ष तीन अर्ब २१ करोडको दूधको कारोबार भएको छ । यो वर्ष जिल्लामा ८९ हजार मेट्रिक टन दूध उत्पादन भएको जिल्ला पशु सेवा कार्यालयका प्रमुख रामकुमार कार्कीले बताए ।
किसानले पाउने रु ३२ प्रतिलिटर र बजारमा बेचिने ५० प्रतिलिटर दूधको औसत मूल्य रु ४० का दरले ८९ हजार मेट्रिक टन दूधबाट रु तीन अर्ब २१ करोड ६० लाख कारोबार भएको उनले बताए ।
दूध उत्पादक किसानको बढ्दो सङ्ख्यासँगै दूध उत्पादन पनि बढ्दो रहेको उनले जानकारी दिए । जिल्लामा रहेका १४८ दुग्ध सहकारीबाट किसानले दूधको कारोबार गर्ने गरेका छन् ।
जसबाट दैनिक दुई लाख लिटर दूध उत्पादन हुने गरेको छ । गाई फार्म थपिने क्रम बढेकाले आगामी वर्ष दैनिक दुई लाख ४० हजार लिटरसम्म दूध उत्पादन हुने अनुमान उनले गरे ।
भर्खरै बढेको दूधको मूल्यले पनि अर्को वर्षको आम्दानी थप बढ्ने बताए । किसानले घाँसमा आधारित दूध उत्पादनलाई जोड दिए लगानी घटाएर थप नाफा लिन सक्ने जिल्ला पशुसेवा कार्यालयका प्राविधिक बताउँछन् । पशुमा लाग्ने रोगहरूका बारेमा सचेत भए किसानले थप घाटा व्यहोर्न नपर्ने कार्कीको भनाइ छ ।
पशु प्राविधिकहरूका अनुसार महँगो दाना र चोकरभन्दा गाई भैँसीलाई आफैंले उत्पादन गरेको हरियो घाँस दिए लागत घट्ने र दूधको उत्पादन पनि बढ्ने गर्छ ।
चितवनमा विदेश पलायन भएका युवासमेत पशुपालनमा आकर्षित भएकाले यसले केही हदसम्म बेरोजगारीको समस्यासमेत हल गरेको युवा किसान मोहन आले बताउँछन् ।
चितवनमा उत्पादित दूध डिडिसी, चितवन मिल्क, सीताराम गोकुल मिल्क, खरीपाटीको दूध उद्योगसहित विभिन्न जिल्लामा खपत हुने गर्दछन् ।