घरेलु तथा साना उद्योगको दर्तामा कमी

काठमाण्डु टुडे २०७० फागुन २८ गते ११:१२ मा प्रकाशित

काठमाण्डु, २८ फागुन – राज्यले जनस्वास्थ्यलाई ध्यानमा राखी सामाजिक सुधारका अभियानलाई बढी महत्व दिन थालेपछि घरेलु तथा साना उद्योग कार्यालय, काठमाडौँमा उद्योग दर्तामा कमी आएको छ ।

चालु आवको माघ महिनामा काठमाण्डुमा नौ घरेलु उद्योग र २३२ साना उद्योग गरी जम्मा २४१ घरेलु तथा साना उद्योग दर्ता भएका छन् । गत वर्षको सोहि महिनामा ३० घरेलु र ३०० साना उद्योग दर्ता भएका थिए ।

सामाजिक सुधारअन्तर्गत मादक पदार्थ सेवनमा कडाई गर्न थालेपछि उपत्यकामा घरेलु तथा साना उद्योगअन्तर्गत पर्ने साना होटल, रेस्टुरेन्ट र डान्स बार दर्तामा कमी आएको घरेलु तथा साना उद्योग कार्यालय काठमाडौँका उद्योग अधिकृत वसन्त भट्टराईले बताए ।

त्यसैगरी जनस्वास्थ्यलाई मध्यनजर गरेर काठमाण्डु उपत्याकाभित्र रक्सी, चुरोट, रसायन, डाइङ (कपडामा रङ्ग लगाउने), टेलरिङ, तयारी पोसाक उत्पादन, पशुपालन, वासिङलगायतका उद्योग सञ्चालन गर्न निषेध गरिएको छ । यसले पनि यहाँ सञ्चालन हुने उद्योगको दायरा साँघुरिएको छ ।

त्यसैगरी राजधानीले विशेषगरी आवासीय रुप लिन थालेपछि साँध सँधियारले उद्योगधन्दा सञ्चालनमा विरोध जनाउन थालेका कारण पनि क्रमिक रुपमा उद्योग दर्तामा कमी आउन थालेको अधिकृत भट्टराईको बुझाई छ ।

काठमाण्डुमा धेरैजसो तान, गलैँचा, ऊनी, सुन, तामा पित्तलका भाँडा बनाउने, थान्का चित्र बनाउने आदि उद्योगसँग सम्बन्धित घरेलु तथा साना उद्योग दर्ता भएका छन् । यस्ता उद्योगका कारण अरुलाई बाधा पु¥याएमा जिल्लाबाट विस्थापित हुनुपर्ने अवस्था आउन सक्छ ।

यस आवको गत माघमा २४१ घरेलु तथा साना उद्योग दर्ताबाट रु ११ करोड एक लाख ४४ हजार स्थिर पुँजी लगानी प्रस्ताव भएको छ भने सोही फर्मबाट रु ११ करोड ६४ लाख ५८ हजार चालु पुँजी गरी जम्मा रु २२ करोड ६६ लाख दुई हजार पुँजी परिचालन भएको अधिकृत भट्टराईले जानकारी दिए । ती उद्योग दर्ताबाट रु १४ लाख राजस्व सङ्कलन भएको छ भने २१३ जनालाई नयाँ रोजगारी सिर्जना भएको छ ।

सरकारले दुई लाखसम्म स्थिर पुँजी भएका उद्योगलाई कुटीर (घरेलु) उद्योग र रु तीन करोडसम्म स्थिर पुँजी भएका उद्योगलाई साना उद्योगको रुपमा परिभाषित गरेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us