पनौती जलविद्युत केन्द्र बन्द हुने अवस्थामा

काठमाण्डु टुडे २०७० फागुन २७ गते १२:०१ मा प्रकाशित

electryबनेपा, २७ फागुन – काभ्रेको खोपासीमा रहेको पनौती जलविद्युत् केन्द्र बन्द हुने अवस्थामा पुगेको छ ।

तीनवटा टर्वाइन प्रयोग गरेर २४०० किलोवाट विद्युत् उत्पादन गर्ने सो जलविद्युत् केन्द्रको समयानुकूल उपकरण परिवर्तन हुन नसक्दा, पानीको मुहानमा कमी आउँदा र स्थानीय कृषकले मुहानको पानी सिँचाइका लागि प्रयोग गरेको र त्यसको नियमन नहुँदा बन्द हुने अवस्थामा पुगेको जिल्ला विकास समिति काभ्रेका इन्जिनियर अच्युत अधिकारीले जानकारी दिए ।

उनका अनुसार अहिले सो विद्युत् केन्द्रबाट पानी सङ्कलन भएको बेलामा ५०० किलोवाट मात्रै विद्युत् उत्पादन भएको छ । यसको जेनेरेटर र टर्वाइन जोड्ने प्रणाली नै परिवर्तन गर्नुपर्छ इन्जिनियर अधिकारीले भने ।

लिलावती र रोशी खोला मुख्य मुहान मानिएको जलविद्युत् केन्द्रको पानी लिलावती खोलाबाट सिँचाइ आयोजनामा पानी प्रयोग भएपछि पानीको मात्रा कम  भएको र त्यसमा रोशी खोलाबाट काभ्रे उपत्यकाको खानेपानी प्रतिसेकेन्ड ७७ लिटर ल्याउन सहमति विद्युत् प्राधिकरणसँग भएका कारण पनि सो जलविद्युत् केन्द्र बन्द हुने अवस्थामा पुगेको स्थानीय रामहरि थापाले जानकारी दिए ।

विसं २०२२ मा रसियन परियोजनाको अरबौँ लगानीमा स्थापना भएको सो विद्युत् केन्द्र राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ । सो जलविद्युत् केन्द्र बन्द हुने अवस्थामा पुगेको भन्दै जिल्ला विकास समितिको २२ औँ परिषद्ले मर्मतसंहार गरी पूर्ण क्षमता सञ्चालनमा ल्याउन नेपाल विद्युत् प्राधिकरणलाई अनुरोध गरेको छ ।

त्यस्तै सुनकोसी नदीको मादनकुडारी गाविसस्थित दोभानटारमा ड्याम बाँधी जलाशययुक्त विद्युतीकरण आयोजनाबाट ५३६ किलोवाट विद्युत् उत्पादन हुन सक्ने प्रारिम्भक सम्भाव्यता अध्ययनबाट देखिएको र त्यसलाई राष्ट्रिय गौरवको आयोजनाका रुपमा विकास गर्न ऊर्जा मन्त्रालयलाई अनुरोध गर्नेसमेत परिषद्ले जोड दिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us