
चितवन, २७ फागुन – चितवनको कुरिनटारमा निर्माण गरिएको नेपालकै एकमात्र केबलकार तीन दिनका लागि बन्द गरिएको छ ।
चितवनको कुरिनटारबाट मनकामनामाईको मन्दिरसम्म सञ्चालन गरिएको केबलकार मर्मतका लागि भन्दै मंगलबारबाट बन्द गरिएको हो । बन्द भएसँगै मनकामनामा आउने हजारौँ यात्रुलाई सास्ती भएको छ ।
केबलकार चल्ने टावर, पुराना यन्त्र उपकरण, तारलगायतको मर्मत गर्नुपर्ने भएकाले बन्द गर्नुपरेको केबलकारका स्टेसन म्यानेजर विएन कायस्थले बताए । तीन दिन लगातार बन्द गरेकाले यात्रुलाई असर नपरोस् भनेर सूचना जारीसमेत गरिएको उनको भनाइ छ ।
सार्वजनिक सूचना नै जारी गरेर केबलकार बन्द गरिए पनि कतिपय यात्रु जानकारी नपुग्दा केबलकार आएर फर्किएका छन् । करिब रु ४५ करोडको लागतमा निर्माण भएको मनकामना केबलकार २०५५ साल मङ्सिर ८ गतेबाट सञ्चालनमा आएको थियो ।
यहाँबाट मनकामना दर्शन गर्न दैनिक तीन हजार यात्रु ओहोरदोहोर गर्ने गरेको केबलकार सञ्चालकले बताएका छन् । अहिले प्रतिव्यक्ति करसहित ५७५ लिने गरिएको छ । हाल उक्त केबलकार सञ्चालन गर्नुपरे कम्तीमा एक अर्ब लाग्ने अनुमान छ ।
हाल तीनवटा बोका बोक्ने र ३१ वटा कार (गन्डोला) उक्त केबलमा जडान गरिएको छ । एउटा गन्डोलामा चार जना अटाउँछन् । प्रतिघण्टा केबलकारले ६०० यात्रु ओसार्ने गरेको स्टेसन म्यानेजर कायस्थले बताए ।
अहिले दैनिक बिहान ८ देखि साँझ ५ बजेसम्म सञ्चालन गरिँदै आएको केबलकार दिउँसो १ बजे एक घण्टा आराम गर्ने गरिएको छ । मर्मतपछि ३० गतेबाट नियमित सञ्चालन हुने बताइएको छ ।