द्वन्द्वका यौन पीडित महिलाको धर्ना

काठमाण्डु टुडे २०७० फागुन २६ गते १२:०१ मा प्रकाशित

काठमाण्डु, २६ फागुन – द्वन्द्वकालमा यौनहिंसामा परेका पीडित महिलाको न्यायका लागि आज महिला मानवअधिकार रक्षकहरूको राष्ट्रिय सञ्जालले सिंहदरबार अगाडि दुई घण्टा धर्ना दिएको छ ।

१०४औं अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा सञ्जालले १० वर्षे सशस्त्र द्वन्द्वका बेलामा बलात्कृत भएका र यौनहिंसामा परेको महिलाहरूको न्यायका लागि कहिकतै आवाज नउठेकाले दबाबस्वरुप आज धर्ना कार्यक्रम गरेको कार्यक्रम संयोजक सृष्टि कोलाक्षपतिले बताइन् ।

महिला मानवअधिकार रक्षकहरूको राष्ट्रिय सञ्जालको अगुवाईमा गत असोज ६ गतेदेखि राष्ट्रियरुपमा अभियान सुरु गरिएको थियो ।

संयोजक कोलाक्षपतिका अनुसार बलात्कार जस्तो जघन्य अपराधप्रति राज्य संवेदनशील नभएकाले दोस्रो चरणको कार्यक्रमअन्तर्गत धर्ना कार्यक्रम गरिएको हो ।

सञ्जालले सशस्त्र द्वन्द्वका बेलामा यौनहिंसामा परेको महिलाहरूको न्यायका राष्ट्रिय समिति गठन गर्नुपर्ने, पीडितको राहतका लागि अन्तर्राष्ट्रिय कानुनअनुसारको न्यायको व्यवस्था गर्नुपर्र्नेलगायतका माग गरेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us