
धादिङ, २६ फागुन – धादिङको गलौदीमा सञ्चालित राष्ट्रिय र्याफ्टिङ तथा धादिङ महोत्सवमा ७० हजार दर्शकले अवलोकन गरेका छन् ।
मेलामा १८० वटा कक्षमा दैनिक उपभोग्य सामान, कृषिजन्य तथा जडीबुटी, कुखुराको मासु, च्याउ, दुग्ध उत्पादन जस्ता वस्तु, हस्तकला तथा छालाका सामान, सूचना प्रविधि, कृषि प्रविधिका उपकरणहरू प्रदर्शन राखिएको थियो ।
धादिङ जिल्लाको पर्यटकीय क्षेत्रको प्रचारप्रसार गर्ने, दुग्ध उत्पादक वस्तुहरूको आकर्षण र स्थानीय वस्तुहरूलाई प्राथमिकता दिने र पर्यटकीय स्थललाई उजागर गर्ने उद्देश्यले सञ्चालन गरिएको मेलामा रु तीन करोडभन्दा बढीको कारोबार हुने भएको प्रचारप्रसार समितिका संयोजक राजकुमार श्रेष्ठले बताए ।
समापन कार्यक्रममा धादिङ जिल्लामा पर्यटकीयस्थलको सम्भावना प्रचुरमात्रा रहेकाले यसलाई सही तरिकाले सदुपयोग गर्न आवश्यक रहेको नेपाल उद्योग वाणिज्य महासङ्घका केन्द्रीय अध्यक्ष सुरज वैद्यले बताए ।
मेलामा त्रिशूली नदीमा र्याफ्टिङ प्रतियोगिता, जिल्लाको कृषिजन्य, दूधजन्य तथा खनिजजन्य उत्पादनको प्रदर्शनी, औद्यौगिक उत्पादनको प्रदर्शनी तथा बिक्री वितरण, ११ देशका अन्तर्राष्ट्रिय ख्याति प्राप्त कलाकारद्वारा कला प्रदर्शनी, आधुनिक तथा लोक दोहोरी तथा हास्य कलाकारको बेजोड प्रस्तुति र एकल नृत्य प्रतियोगिता, मनोरन्जनका लागि रमाइलो मेला, धादिङ जिल्लालाई झल्काउने विविध झाँक्रीसहितको शोभा यात्रा, हेलिकोप्टरबाट धादिङ जिल्लाको धार्मिक एवम् पर्यटकीयस्थलको दृश्यावलोकन मेलाको मुख्य आकर्षणका रुपमा रहेको थियो ।