
चितवन, २६ फागुन – चितवनमा पछिल्लो समयमा सञ्चालित विद्युत चोरी नियन्त्रण अभियानअन्तर्गत भरतपुर वितरण केन्द्रले मात्रै रु एक करोड ४२ लाख ६७ हजार राजस्व सङ्कलन गर्न सफल भएको छ ।
वर्षौंदेखि विद्युतमहसुल नतिरेर बक्यौता रहेका ग्राहक र चोरी गर्नेविरुद्ध गरिएको कारबाहीमा यसरी राजस्व सङ्कलन गर्न सफल भएको विद्युतप्राधिकरण भरतपुर वितरण शाखाका प्रमुख उमेश झाले बताए ।
उनका अनुसार अहिले चोरी भने न्यून रहेको र बक्यौता पनि आउने क्रम जारी रहेको छ । नेपाल सरकारले तिर्नुपर्ने सडक बत्तीबापतको साँढे नौ करोड भने उठ्न सकेको छैन ।
एक वर्ष अघिदेखि विद्युतकार्यालयका कर्मचारी, जनपद र सशस्त्र प्रहरीको संयुक्त टोलीले विद्युतचोरी नियन्त्रण अभियान सञ्चालन गरेका छन् । भरतपुरमा अहिले कुल रु २० करोड विद्युतबक्यौता उठ्न बाँकी छ ।
अहिलेसम्म विद्युतप्राधिकरणले अभियानको सिलसिलामा दुई हजार २६२ जनालाई कारबाही गरी उक्त रकम असुल गरेको हो । कुल १० लाख ५५ हजार युनिट विद्युत्को महसुल उठेको विद्युतकार्यालयको तथ्यङ्कमा उल्लेख छ । नियमित उठ्ने राजस्व रकम भने छुट्टै रहेको उनले बताए ।
अहिले सडक बत्तीबाहेक करिब एक करोड रुपैयाँ बक्यौता रहेको संस्था कुनै पनि नरहेको झाले बताए । यसअघि कुल रु ३२ करोड बक्यौता बाँकी रहेकामा कतिपय संस्थाले करोड माथिको बक्यौता बुझाउन बाँकी थियो ।
एक करोड माथिको बक्यौता रहेको चितवनको रामपुर कृषि क्याम्पसले समेत पैसा तिर्दै आएको र अहिले रु ७० लाखमा झरेको छ । गएको महिनामा मात्रै उसले रु १२ लाख तिरेको विद्युतकार्यालय भरतपुरले जनाएको छ । रत्ननगर वितरण केन्द्रले छुट्टै राजस्व उठाएको छ । रत्ननगरको विवरण भने आइनसकेको बताइएको छ ।