‘प्रमाणीकरण विवाद सोमबार टुङ्गो लगाइने’

काठमाण्डु टुडे २०७० फागुन २५ गते १८:०७ मा प्रकाशित

 नेकपा एमालेका एक जना नेताले नयाँ संविधानको प्रमाणीकरणबारेको विवाद सोमबारसम्म टुङ्गो लाग्ने बताएका छन्।विवादित विषयमा सहमति जुटाउन नेपाली कांग्रेस र एमालेका नेताहरु आइतबार अवेरसम्म छलफलमा थिए।

त्यसअघि कांग्रेस सभापति तथा प्रधानमन्त्री सुशील कोइराला र एमाले अध्यक्ष झलनाथ खनालबीच छुट्टै कुराकानी भएको थियो।त्यसपछि दुई दलका नेताहरुबीच सहमति पहिल्याउन सिंहदरबारमा छलफल भएको थियो।झण्डै तीन घण्टा छलफल भए पनि कुनै सहमति हुन सकेन।

छलफलमा सहभागी एमाले नेता भीम रावल सोमबारसम्म सहमतिमा पुगिने आशा व्यक्त गर्छन्।उनी भन्छन्, ‘’आन्तरिक परामर्श गरेर सोमबार दुई दलीय छलफलबाट प्रमाणीकरणसम्बन्धी विवाद टुङ्गो लगाइने छ।‘’

कांग्रेस र एमालेबीच नयाँ संविधान कसले प्रमाणीकरण गर्ने भन्ने विषयमा तीव्र विवाद रहिआएको छ।एमालेले नयाँ संविधान संविधानसभाका अध्यक्षबाट प्रमाणीकरण हुनुपर्ने बताउँदै आएको छ भने कांग्रेसले राष्ट्राध्यक्षको हैसियतमा राष्ट्रपतिले प्रमाणीकरण गर्नुपर्ने अडान लिदै आएको छ।

संविधानसभाका मुख्य दुई दलबीच सहमति हुन नसक्दा संविधानसभा नियमावली मस्यौदा समितिले अहिलेसम्म मस्यौदा टुङ्गो लगाउन सकेको छैन।समितिको दोस्रो पटक थपिएको म्याद मंगलबार सकिदैछ।

दलहरुबीच दबाब समूह ककस गठन र ह्विप जारी गर्न पाउने वा नपाउने विषयमा समेत मतभेद छ।कांग्रेस र एमाले ह्विपको पक्षमा छन् भने एकीकृत नेकपा माओवादी र साना दलहरु त्यसको विपक्षमा उभिएका छन्। मस्यौदा टुङ्गो नलाग्दा संविधानसभा गठन भएको दुई महिना बित्न लाग्दा समेत संविधान लेखन प्रक्रिया शुरु हुन सकेको छैन।

समितिका सदस्य प्रेमबहादुर सिंहले सोमबार बस्ने बैठकले संभवतः मस्यौदा टुङ्गो लगाउने बताएका छन्। समितिमा प्रतिनिधित्व गर्ने कांग्रेस र एमालेका सदस्यहरुले छुट्टै छलफल गरेका थिए।उनीहरुको आग्रहमा समितिको बैठक स्थगित गरिएको सिंहले जनाएका छन्। BBC

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us