नबिल ओभरसिजको कारोबार रोक्का

काठमाण्डु टुडे २०७० फागुन २५ गते ११:३३ मा प्रकाशित

Nabilकाठमाण्डु, २५ फागुन – वैदेशिक रोजगार विभागले नबिल ओभरसिजको सम्पूर्ण कारोबारमा रोक लगाएको छ ।

सो कम्पनीले रोजगारीको लागि मलेसिया जाने हजारौं नेपालीलाई सस्तो मुल्यको विज्ञापनको प्रलोभनमा पारी २ लाख भन्दा बढि रकम असुली गरेको अडियो रेकर्ड सहितको समाचार सञ्चार माध्यमले पर्दाफास गरेपछि विभागले कम्पनीले गर्ने सम्पूर्ण काम रोक्का गरेको हो ।

विभागका महानिर्देशक कृष्णहरी पुस्करका अनुसार उक्त कम्पनीलाई सस्पेन्समा राखिएको छ । सञ्चार माध्यममा आएका समाचार प्रमाणित भए कसुरको आधारमा कारबाही गरिने पुस्करले बताए । ‘हामीले सञ्चार माध्यममा आएको समाचार र रिपोर्टलाई आधार मानेर अनुसन्धान सुरु गरिसकेका छौं,’ उनले भने, ‘अब छिट्टै कारबाही गर्छौं ।’

सो कम्पनीले दैनिक पत्रिकामा ‘कुल लागत चालीस हजारमा मलेसियामा रोजगारीको अवसर’ भन्दै विज्ञापन प्रकाशित गरि २ लाख रुपैंयासम्म असुल्दै आएको रहस्य गत बुधबार फेला परेको थियो ।

विगत १३ वर्षदेखि वैदेशिक रोजगारीमा खाडी मुलुक जाने युवाहरुलाई ठगी गर्दै आएको उक्त कम्पनीकी सञ्चालिका राधिका कटुवाल यसअघि पनि विभिन्न ठगी प्रकरणमा मुछिएकी व्यक्ति हुन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us