
कास्की, २४ फागुन – लेखनाथको संस्कृति, स्थानीय उत्पादनको विकास र संमृद्धि भन्ने मूल नारा लिएर मंसिर २७ देखि पुस ८ सम्म सञ्चालित लेखनाथ महोत्सव २०७० बाट रु १४ लाख ९१ हजार ५७७ बचत भएको छ ।
स्थानीय उत्पादनको बजार प्रवद्र्धन र आन्तरिक तथा बाह्य पर्यटक आगमनमा वृद्धि गर्ने उद्देश्यले आयोजित महोत्सवबाट एक करोड दुई लाख ७६ हजार आम्दानी भई महोत्सव सम्पन्न गर्न ८७ लाख ८४ हजार खर्च लागेको शनिबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
महोत्सव आयोजक लेखनाथ उद्योग वाणिज्य सङ्घले महोत्सवबाट प्राप्त आम्दानीबाट दस/दस लाख विनियोजन गरी व्यवसाय कल्याणकारी कोष र सचिवालय व्यवस्थापन कोष स्थापना गरेको संघका कोषाध्यक्ष छत्रधर आत्रेयले बताए ।
महोत्सवबाट प्राप्त आम्दानीबाट प्रस्तावित रङ्गशाला निर्माणमा छ लाख ५० हजार उपलब्ध गराइने र अन्य आम्दानी समग्र लेखनाथको सामाजिक तथा आर्थिक विकासमा खर्च गरिने संघका अध्यक्ष बाबुराम गिरीले जानकारी दिए ।