विवरण नबुझाउने करदाताको कारोबार रोक्का

काठमाण्डु टुडे २०७० फागुन २३ गते ११:५५ मा प्रकाशित

काठमाण्डु, २३ फागुन – आन्तरिक राजस्व विभागले मूल्य अभिवृद्धि कर (भ्याट) मा दर्ता भएर विवरण नबुझाउने करदाताको कारोबार रोक्का गर्न सुरु गरेको छ ।

भ्याटमा दर्ता भएर विवरण नबुझाउने एक लाख १७ हजार करदातामध्ये साढे सात हजार करदाताले एकपटक पनि विवरण पेस नगरेको आन्तरिक राजस्व विभागले जनाएको छ ।

विवरण नबुझाउने करदातालाई करको दायरामा ल्याउन विभागले सो कार्यको सुरुवात गरेको हो । करमा दर्ता भए पनि एकपटक विवरण पेस नगर्ने करदातालाई आयात निर्यात गर्न नदिनका लागि सबै कर कार्यालयलाई पत्राचार गरेको विभागका महानिर्देशक टङ्कमणि शर्माले जानकारी दिए ।

करमा दर्ता भएर पनि विवरण पेस नगर्ने सबै करदाता पत्ता लगाएर कारोबार रोक्का तथा दर्ता खारेज गर्न सुरु गरेको उनले बताए । विवरण पेस नगर्ने करदाताको बैंक खाता, प्रतितपत्र (एलसी) रोक्नका लागि मातहतका सम्पूर्ण कार्यालयलाई निर्देशन दिएको भन्दै उनीहरूबाटै कारोबार रोक्ने काम हुने उनको भनाइ छ ।

विभागको तथ्याङ्कअनुसार एक वर्षभन्दा बढी अवधिको विवरण पेस नगर्ने करिब १२ हजार र छ महिनाभन्दा बढी अवधिको विवरण पेस नगर्ने करिब २० हजार करदाताहरू रहेका छन् ।

कुनै पनि पेसा तथा व्यवसाय सञ्चालन गर्नुपूर्व स्थायी लेखा नम्बर (प्यान) अनिवार्य लिएरमात्र व्यवसाय सञ्चालन गर्नुपर्ने तथा कर अनिवार्य रूपमा बुझाउनुपर्ने प्रावधान गरेको छ ।

सो प्रावधान रहे पनि थुप्रै व्यवसायीहरूले सो नियमको उल्लङ्घन गर्ने गरेको विभागले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us