
पोखरा, २३ फागुन – स्याङ्जा जिल्लामा यस वर्ष रु २० करोड मूल्यको सुन्तला उत्पादन भएको छ । जिल्लामा यो वर्ष ११ हजार ८३२ मेट्रिक टन सुन्तला उत्पादन भएको कृषि विकास कार्यालय स्याङ्जाका प्राविधिक सहायक बद्रीप्रसाद लामिछानेले बताए ।
स्याङ्जामा अघिल्लो वर्ष रु १६ करोड मूल्य बराबरको ११ हजार ४९७ मेट्रिक सुन्तला उत्पादन भएको थियो । जिल्लामा गत वर्षको भन्दा २.९ प्रतिशतले सुन्तला उत्पादनमा वृद्धि भएको छ ।
जिल्लाका ६० गाविस र दुई नगरपालिकामध्ये दुई नगरपालिका ५४ गाविसमा सुन्तला उत्पादन हुने गर्दछ । व्यापारीले कृषकको बगैँचामै पुगी प्रतिकिलो रु ३० मा सुन्तला खरिद गर्ने गरेका थिए ।
यस वर्ष हुरी बतास र असिना नपरेको र अनुकूल मौसम परेकाले सुन्तलाको उत्पादनमा वृद्धि हुन गएको प्राविधिक सहायक लामिछानेले बताए ।
जिल्लाका पुतलीबजार नगरपालिकाको वडा नं १२ र १३, दाङ्सिङ, दहथुम, पेलाकोट, अर्जुनचौपारी, रापाकोट, ठूलाडिही, फापरथुम गाविसमा अत्यधिकमात्रामा सुन्तला उत्पादन हुने गर्दछ । यहाँका गाविसका किसानले न्यूनतम रु ५० हजारदेखि पाँच लाखसम्मको सुन्तला बिक्री गर्ने गर्दछन् ।
स्याङ्जामा उत्पादित सुन्तलाको बजार मुख्य गरेर बुटवल, पोखरा, नारायणगढ, भैरहवा नै हुन् । यहाँ उत्पादित सुन्तला निकै स्वादिष्ट भएकाले उपभोक्ताले अधिकमात्रामा रुचाउने बजारी बताउँछन् ।