
नेपालगन्ज, – थोरै लगानीमा पनि अधिक प्रतिफल पाउने प्रविधि सिकेपछि बाँके जिल्लाका कृषकको तरकारी व्यवसायमा सहभागिता बढ्दै गएको पाइन्छ ।
जिल्ला कृषि विकास कार्यालयका अनुसार, यस जिल्लाका कुल ४६ गाविसमध्ये हाल १४ भन्दा बढी गाविसमा तरकारीखेती फस्टाउँदै गएको छ ।
व्यावसायिक तरकारीखेती प्रविधिका विषयमा जानकारी पाएपछि अन्नबाली छाडेर व्यावसायिक तरकारीखेती थाल्नु भएका साइगाउँका कृषक रामनिरत मिश्रको आर्थिक अवस्था पछिल्लो समयमा अपत्यारिलो किसिमले उँभो लाग्दै गएको छ ।
‘तरकारी व्यवसाय अँगालेपछि एक मौसममा ५० हजारभन्दा बढी आम्दानी भयो, अहिले मेरो परिवारका सबै सदस्य यसैमा संलग्न भएका छौं, मिश्रले भने ।
उनीजस्तै जिल्लाका अर्का कृषक वंशीधर शर्माले अहिले बारीमा लौका, भिन्डी, करेला फलाउनुभएको छ भने परसपुर गाविसका कृषक सरमेश्वर मिश्रले तरकारीखेती गर्न थालेको झन्डै आठ वर्ष पुगेको छ ।
जिल्ला कृषि विकास कार्यालयले पनि व्यावासायिक तरकारीखेती अँगालेका कृषकलाई प्राविधिक सहयोगका साथै बजार व्यवस्था, बीउबिजनलगायतका विषयमा तालिम सीपसमेत उपलब्ध गराउँदै आएको जनाइएको छ ।